काठमाडौं– निकै पछि सेयर बजारको कारोबार रकम आइतबार ९ अर्बभन्दा माथि उक्लिएको छ । यस दिन नेप्से पनि ६९ बिन्दुले माथि गएको छ । कारोबार भएका सबै उपसमूहको सूचकमा हरियाली छाउँदा नेप्सेमा उच्च वृद्धि देखिएको हो ।
आइतबार ६९ बिन्दुले बढ्दा नेप्से २९२६.७४ कायम भएको छ । यस दिन २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँ पुगेको हो । गत बिहीबार ६ अर्ब ६६ करोड ९७ लाखको सेयर किनबेच भएको थियो ।
बजार घटेका बेला तीन अर्बभन्दा तल ओर्लेको कारोबार रकममा आएको सुधारले सेयर बजार सकारात्मक दिशातर्फ उन्मुख भएको संकेत गरेको छ ।
आइतबार कारोबार भएका मध्ये उत्पादनमूलक समूहको सूचक सर्वाधिक ५.६२ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर अगाडि छ । यो कम्पनीको ३२ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । अपि पावरको २७ करोड ६५ लाख, अपर तामाकोसीको २६ करोड १९ लाख, शिवम् सिमेन्ट्सको २३ करोड ८१ लाख र निफ्राको २३ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आइतबार मध्यभोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसको प्रतिसेयर मूल्य ९.९९ प्रतिशतले बढेर ४१७.१० रूपैयाँ कायम भएको छ । यसैगरी हिमालयन डिस्टिलरी र सिभिल बैंकको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यस दिन सबैभन्दा बढी गुमाउनेमा बोटलर्स नेपालका सेयरधनी परेका छन् । यो कम्पनीको सेयर मूल्य ३.८२ प्रतिशतले घटेर १५ हजार ४० रुपैयाँ कायम भएको छ ।









