काठमाडौं– सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्यांक हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ । सोही अवधिको समग्र खर्चमा भने उतारचढाव देखिएको छ ।

आर्थिक वर्ष २०७६–७७ को पुस मसान्तसम्म राजस्व संकलन कुल लक्ष्यको ३८.९५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७–७८ मा ४१.७३ प्रतिशत पुगेको थियो ।

यस्तै चालु आर्थिक वर्ष २०७८–८९ को पुस मसान्तसम्म ४५.९१ प्रतिशत राजस्व संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१८ प्रतिशतले बढी हो । अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था हाराहारीमा रहेको छ ।

आर्थिक वर्ष २०७६–७७ को पुस मसान्तसम्म पुँजीगत खर्च १४.८९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७–७८ को सोही अवधिमा १४.४० भएको थियो ।

यस्तै चालु आर्थिक वर्ष २०७८–८९ को पुस मसान्तसम्म पुँजीगत खर्च १३.४४ प्रतिशत भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९६ प्रतिशत कम हो । प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको हो ।

समीक्षा अवधिको चालु र वित्तीय खर्चमा भने केही उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७६–७७ को पुस मसान्तसम्म चालु खर्च ३२.३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२.४४ रहेको थियो । आर्थिक वर्ष २०७७–७८ को सोही अवधिमा चालु खर्च ३६ दशमलव ०८ रहेकोमा वित्तीय खर्च १३.०६ भएको थियो ।

यस्तै चालु आर्थिक वर्ष २०७८–८९ को पुस मसान्तसम्म चालु खर्च ३८.१३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६.१२ प्रतिशत रहेको छ । वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय