काठमाडौं– नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले नारायणहिटी क्याफेटेरिया प्रकरणले निजी क्षेत्र आतंकित र सशंकित भएको जनाएको छ । संघले कानुनको अधीनमा रही काम गरिरहेका व्यवसायीमाथि एकतर्फी रुपमा प्रहार भइरहे आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

नारायणहिटी संग्रहालयमा क्याफेटेरिया सञ्चालन गर्न निजी क्षेत्रलाई दिने सम्बन्धमा देखिएको विवादमा व्यवसायी आनन्दराज बतास तथा बतास अर्गनाइजेसनमाथि एकतर्फी प्रहार गर्दै शंकाको भरमा विभिन्न समाचार माध्यममार्फत व्यवसायीको चरित्र हत्या र मानमर्दन गरिएकोका सम्पूर्ण निजी क्षेत्र ससंकित र आतंकित बनेको संघको भनाइ छ ।

नारायणहिटी दरबार संग्रहालयमा नेपाल सरकारले टेन्डर आह्वान गरी सरकार–निजी सहकार्य गर्ने नीति अनुसार विधिपूर्वक बतास अर्गनाइजेसनलाई सम्झौता गरी क्याफेटेरिया सञ्चालन गर्न अनुमति दिएकोमा यसरी कानुनी रुपमा अनुमति प्राप्त गरिसकेपछि आवश्यक निर्माण गर्दै गरेको अवस्थामा तथ्यहीन समाचारकै आधारमा सरकारले एकाएक व्यवसायीको एकतर्फी दोष देखाएर स्पष्टीकरणको मौका समेत नदिई निर्माणाधीन संरचना भत्काउँदा मुलुकमा स्वतन्त्र व्यवसाय र लगानी गर्ने वातावरणमाथि अंकुश लगाएको महसुस गरेका संघले जनाएको छ ।

एउटा स्वतन्त्र व्यवसायमाथि नियोजित तरिकाले प्रक्रिया र कानुन विपरीत भएको गतिविधिमाथि राज्यले यथाशीघ्र छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही र पीडित व्यवसायीलाई क्षतिपूर्तिको व्यवस्था गरिदिन संघले आग्रह गरेको छ ।

एकतर्फी रुपमा बिनाअपराध व्यवसायीमाथि गरिने निर्मम प्रहारले राज्यमा स्वतन्त्र र सुरक्षित लगानीको वातावरण नभएको सूचना राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा सम्प्रेषण हुने संघको भनाइ छ । यो विवादको समाधान खोज्न आनाकानी र ढिलासुस्ती गर्दै व्यवसायीमाथि एकतर्फी रुपमा नियोजित तरिकाले थप प्रहार गर्ने कार्यले निरन्तरता पाउँदै गए संघले सम्पूर्ण निजी क्षेत्रलाई एकै ठाउँमा ल्याएर चरणबद्ध विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय