काठमाडौं– कोरोना संक्रमण व्यापक रुपमा बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले सवारी साधनमा जोर–बिजोरको नियम लगाउने तयारी गरेका छन् ।
बिहीबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले शुक्रबार राति १२ बजेदेखि निजी र सार्वजनिक सवारी साधनमा जोर–बिजोरको नियम लागू गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना प्रकाशित गरी माघ ७ गते शुक्रबार राति १२ बजेबाट जोर बार नम्बर प्लेटको पछाडिको अंक जोर भएको र र बिजोर बार नम्बर प्लेटमा पछाडिको अंक बिजोर भएको गाडी गुडाउन पाइने जानकारी गराएको छ ।
यो नियम दुईपांग्रे, चारपांग्रे, निजी, सार्वजनिक सबै प्रकारका सवारी साधनमा लागू हुने बताइएको छ ।
प्रशासनले यसअघि पनि कोरोना संक्रमण बढेका बेला सवारी साधनमा जोर–बिजोरको नियम, गुडाउन प्रतिबन्ध, लकडाउन लगायत उपाय गरेको थियो ।









