काठमाडौं– देशभर कार्यक्षेत्र रहेको ख वर्गको यस महालक्ष्मी विकास बैंक लिमिटेडले गत पुस मसान्तसम्ममा साढे ४५ करोडभन्दा बढी खुद मुनाफा कमाएको छ ।
बैंकको चालु आर्थिक वर्षको दोसो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत चालु वर्षको दोस्रो त्रैमाससम्ममा यसले ४५ करोड ६२ लाख खुद नाफा कमाएको छ । यो खुद मुनाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१.५५ प्रतिशतले बढी हो ।
पुस मसान्तसम्ममा बैंकको निक्षेप ४३ अर्ब १ करोड र कर्जा ४० अर्ब पुगेको छ । चालु वर्षको ६ महिनामा बैंकले सञ्चालन आम्दानी १ अर्ब १० करोड पुर्याएको छ । त्यसैगरी, गत आर्थिक वर्षको पुस मसान्तसम्मको खुद सञ्चालन मुनाफालाई ४१ प्रतिशतले वृद्धि गरी ६८ करोड पुर्याएको छ ।
उक्त अवधिमा बैंकले उल्लेख्य रुपमा खराब कर्जा घटाई गत वर्षको ४.७९ प्रतिशतको खराब कर्जालाई २.८९ प्रतिशतमा झार्न सफल भएको छ ।
यो बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । आगामी वर्ष पनि आकर्षक लांभाश दिनेतर्फ उन्मुख रहेको बैंकले दाबी गरेको छ ।
यसले देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानका १०३ शाखामार्फत ६ लाख ग्राहकलाई सेवा दिइरहेको छ ।









