काठमाडौं– एफटिटिएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटिई नमस्ते वाइफाइ विस्तार गर्ने भएको छ ।
कम्पनीले फोरजी एलटिई नमस्ते वाइफाई सेवाका विभिन्न आकर्षक प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेज आवश्यक डिभाइससहित उपभोक्तालाई सहज रुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको छ । सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्स प्रालिका सिइओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् ।
फोरजी एलटिई नमस्ते वाइफाइमार्फत टेलिकमले हाल व्यक्तिगत प्याकेज र संस्थागत प्याकेज उपलब्ध गराइरहेको प्रवक्ता राजेश जोशीले जानकारी दिए । व्यक्तिगत प्याकेजअन्तर्गत होम ब्रोडब्यान्ड वेसिक ८०० मा ६० जिबी ३० दिनका लागि उपलब्ध छ ।
त्यसैगरी, एक वर्षका लागि नौ हजारमा ७२० जिबी प्याक उपलब्ध छ । यसलाई प्रतिमहिना ६० जिबीको दरले एक वर्षसम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा ४०० मा १५ दिनका लागि ६० जिबी प्याक लिन सकिन्छ । होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत एक हजार २०० मा १२० जिबी प्याक ३० दिनका लागि उपलब्ध हुन्छ । त्यसैगरी, एक वर्षका लागि १३ हजार ५०० मा एक हजार ४४० जिबी प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १२० जिबीको दरले एक वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
यी दुवैमा एड अन प्याकको रुपमा ६०० रुपैयाँमा १५ दिनका लागि १२० जिबी प्याक लिन सकिन्छ । सरकारी संस्था प्याकेजमा ३६५० र २१०० रुपैयाँमा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेज उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिकरुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको व्यवस्था छ । फोरजी एलटिई नमस्ते वाइफाई सेवाको प्याकेज र यसको दर सम्बन्धमा विस्तृत जानकारी https://www.ntc.net.np/post/4g–wireless–home–broadband मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
हाल देशका अधिकांश स्थानमा फोरजी सेवा पुगिसकेको र घरमा वा कार्यालयमा द्रुत गतिको इन्टरनेट विभिन्न डिभाइसमार्फत चलाउन इच्छुक सेवाग्राहीको संख्या वृद्धि हुँदै गएकाले यो सेवा प्रभावकारी र आकर्षक हुने अपेक्षा गरिएको छ ।









