काठमाडौं– सोमबार सेयर बजारका लगानीकर्ताको १ खर्ब ४१ अर्ब रुपैयाँभन्दा बढी रकम गुमेको छ । यस दिन सेयर बजारमा १०० बिन्दुको पहिरो जाँदा सर्वसाधारण लगानीकर्ताको उक्त रकम गुमेको हो ।
२२९५ बिन्दुमा ओर्लेर ‘बाउन्स ब्याक’ गरेको सेयर बजारमा सोमबार १००.१ बिन्दुको पहिरो गएको हो । गत भदौ पहिलो साता ३२०० भन्दा माथि पुगिसकेको सेयर सूचक मंसिर २७ गते २२९५ बिन्दुमा ओर्लेको थियो । त्यसपछिका उचारचढाव झेल्दै २९०० भन्दा माथि पुगेको बजारमा सोमबार १००.१ बिन्दुको पहिरो जाँदा नेप्से २०२०.४१ कायम भएको छ । यस दिन सेन्सेटिभ सूचक १८.२ बिन्दुले घटेको छ ।
यो गिरावटसँगै कुल बजार पुँजीकरण ३९ खर्ब ८६ अर्ब रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार कुल बजार पुँजीकरण ४१ खर्ब २७ अर्ब पुगेको थियो । यसको अर्थ सोमबार सेयर बजारका लगानीकर्ताले १ खर्ब ४१ अर्ब रुपैयाँ गुमाएको हुन्छ ।
सोमबार कारोबार सुरु हुनेबित्तिकैदेखि ओरालो लाग्न थालेको बजारमा १५ मिनेटपछि केही सुधार देखिए पनि मागको तुलनामा आपूर्ति बढेपछि दिनभर जसो नै बजार ओरालै लागिरहेको नेपाल स्टक एक्सचेन्जको कारोबार विवरणले देखाउँछ ।
बजार बन्द हुन १० मिनेट बाँकी रहँदासम्ममा १२२ बिन्दुले ओर्लिसकेको सूचक पछिल्लो १० मिनेटमा केही सुधार आएर १०० बिन्दुको गिरावटमा आइपुगेको हो ।
नेप्से ओरालो लागे पनि कारोबार रकम भने पछिल्लो समयको औसतमै छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । २२८ वटा कम्पनीका १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर किनबेच भएको हो ।
आइतबारको गिरावट ३.४३ प्रतिशत हो । सय बिन्दुले ओरालो लागेको बजारमा पनि दुईवटा कम्पनीका सेयरधनीले भने १०–१० प्रतिशतका दरले कमाएका छन् । ती भाग्यमानी बुद्धभूमि नेपाल हाइड्रोपावर र विन नेपाल लघुवित्त वित्तीय संस्थाका सेयरधनी हुन् । दुवै कम्पनीको सेयर मूल्य १०–१० प्रतिशतका दरले बढेको छ । यी बाहेक अरु ६ कम्पनीका सेयरधनीले पनि सोमबार कमाएका छन् । आज कमाउने कम्पनीमा ज्योती लाइफ इन्स्योरेन्स, गोर्खा फाइनान्स, सानिमा लार्ज क्याप फन्ड, जनउत्थान सामुदायिक लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र १०.२५ प्रतिशत एसिबएल डिबेन्चर २०८३ छन् । बाँकी सबैले गुमाएका छन् ।
सबैभन्दा बढी गुमाउनेमा कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनी परेका छन् । उक्त बैंकको सेयर मूल्य ७.८२ प्रतिशतले घटेको छ ।









