काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बुधबार आयोजित एक समारोहबीच भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको सुरुआत गरेका छन् ।
इपेमेन्ट प्रणालीको सुरुआतसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्न सक्ने छन् । योसँगै नयाँ युगको सुरुआत भएको जनाउँदै उनले यसले घरमै बसेर भन्सार जाँचपास गर्न सकिने तथा राजस्व संकलनमा समेत सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।
‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचत लगायतका लागि यसले महत्त्वपूर्ण औजारका रूपमा काम गर्नेछ,’ उनले भने, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’ त्यस्तै उनले भन्सार बिन्दुमा चाँडै ‘भेइकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । उनले भन्सारको निरन्तर सुधार अन्तर्गत ‘भेइकल स्क्यानर’ ल्याउने कार्य अन्तिम चरणमा रहेको जानकारी गराए ।
मन्त्री शर्माले ‘भेइकल स्क्यानर’ मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गरे । उनले भन्सार बिन्दुहरूमा निजी क्षेत्रले माग गरे बमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । त्यसका लागि सरकार कामलाई अगाडि बढाउन प्रतिबद्ध रहेको उनको भनाइ छ । निजी क्षेत्रसँगको सहकार्यको निरन्तरता तथा निजी क्षेत्रको सुझाव सरकारले नीति निर्माणमा मार्गदर्शनका रूपमा लिने अर्थमन्त्री शर्माले विश्वास दिलाए ।
यसैगरी पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्य वृद्धिको शृंखलाका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको जानकारी गराउँदै उनले अर्थतन्त्र धराशयी नभएको बता । कतिपयले निजी क्षेत्र तथा आम सर्वसाधारणलाई त्रसित बनाउने गरी प्रचार गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै अर्थमन्त्री शर्माले त्यस्ता भ्रमलाई सरकारले नतिजाबाट चिरफार गर्ने बताए ।
समारोहमा अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने उल्लेख गर्दै त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवं तालिमको व्यवस्था हुनुपर्नेमा जोड दिए । त्यस्तै भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने जनाउँदै उनले यस्ता सुधारमा निजी क्षेत्रको सहयोगको खाँचो समेत औंल्याए ।
नेपाल उद्योग परिसंंघका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्यांकन सुधार गर्नुपर्ने माग गर्दै परम्परागत प्रणालीबाट नै मूल्यांकन भइरहेकाले सही मूल्य निर्धारण नहुँदा अर्थतन्त्रमा नै असर परिरहेको बताए । यसले नयाँ पिँढीलाई व्यवसायमा आउन निरुत्साहित भइरहेको उनको भनाइ थियो । हरेक वर्ष २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै आइएको छ । यस वर्ष पनि भन्सारलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने नाराको मूल भावसहित मनाइएको हो ।









