काठमाडौं– सरकारले शिक्षकहरुका लागि छुट्टै अस्पताल खोल्ने तयारी गरेको छ । गत माघ १७ गते सम्पन्न मन्त्रिपरिषद् बैठकले शिक्षक अस्पताल स्थापनाको लागि प्रक्रिया अघि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो । योसँगै शिक्षक अस्पताल स्थापनाको प्रक्रिया सुरु गर्ने बाटो खुलेको छ ।

सोही बैठकले ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट’का लागि विश्व बैंकसँग १५० मिलियन अमेरिकी डलर (करिब १७ अर्ब रुपैयाँ) को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को मुख्य मुख्य निर्णयहरु सार्वजनिक गरेका हुन् ।

उनका अनुसार बैठकले हिमाल आरोहण दल (नेपाली सेना)का सदस्यलाई सलामी दस्तुर र धरौटी रकम छुट दिने निर्णय पनि गरेको छ । यही माघ १९ गते सोनाम ल्होसारका अवसरमा नेपालभरका कार्यालयमा बिदा दिने लगायत निर्णय गरेको पनि मन्त्री कार्कीले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल टेलिभिजनको अध्यक्षमा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समीरजंग शाहलाई बढीमा चार वर्षका लागि नियुक्ति दिने, नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा प्राडा शिलु मानन्धरलाई नियुक्ति दिने, सरकारको सचिव पदमा सहसचिव रामेश्वर दंगाललाई बढुवा गर्ने, लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिसमा विभिन्न कर्मचारीलाई राजपत्रांकित प्रथम श्रेणी र सो सरहको पदमा बढुवा गर्ने, कच्चा दूधको न्यूनतम् मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा निर्धारण गर्ने निर्णय गरेको छ ।

साथै बैठकले विभिन्न मालपोत र नापी कार्यालयका लागि कार्यक्षेत्र निर्धारण पनि गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय