धुलिखेल– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भोलि आइतबारदेखि स्थानीय तहगत रुपमा आलोपालो सेवा प्रवाह गर्ने भएको छ ।

कोरोनाको उच्च जोखिम रहेकोभन्दै करिब दुई हप्ता सेवा रोकेको कार्यालयले आइतबारदेखि आलोपालो सेवा सुरु गर्ने जनाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारद्वारा जारी सूचनामा स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाई स्थानीय तहगत रुपमा सेवा लिन आग्रह गरिएको छ ।

कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि यही माघ ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकको सेवा स्थगन गरिएको थियो । त्यसअघि गत पुस दोस्रो सातादेखि कार्यालयले सेवाको तालिका हेरफेर गरी सूचनामार्फत कोभिड–१९ को नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाइ सेवा लिन आग्रह गरेको थियो ।

जारी सूचनामा आइतबार धुलिखेल नगरपालिका र रोशी गाउँपालिका, सोमबार बनेपा नगर र चौंरीदेउराली गाउँपालिका, मंगलबार पनौती नगर र बेथानचोक गाउँपालिकाका नागरिकले सेवा पाउने जनाइएको छ । यस्तै, बुधबार पाँचखाल नगर र तेमाल गाउँपालिका, विहीबार मण्डनदेउपुर नगर र भुम्लु गाउँपालिका तथा शुक्रबार नमोबुद्ध नगर र खानीखोला गाउँपालिकाको नागरिकलाई सेवा प्रवाह गरिने सूचनामा उल्लेख गरिएको छ । महाभारत गाउँपालिकाको लागि इलाका प्रशासन कार्यालयबाट सेवा पाउने जनाइएको छ । सेवाग्राहीलाई कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ ।

यसैबीच, काभ्रेपलाञ्चोकमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमण दर दैनिक घटिरहेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय