काठमाडौं– टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गई अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ ।
भिजिट भिसामा युएई पुर्याई उनीहरू अलपत्र पारेको खबर सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न निर्देशन दिएका थिए । नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनील पन्थ र रमेशजंग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र संखुवासभाका सन्तोष चम्लागाईं गरेका छन् ।
युएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट जनही ७ लाख ५० हजारका दरले रकम लिएर युएई पठाई अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले पक्राउ गरेको थियो ।
यसैगरी केही समयअघि साउदी अरेबियामा बिरामी परी अलपत्र परेका जाजरकोटका आइस रानालाई स्वास्थ्य उपचार गरी आज स्वदेश फर्काइएको छ नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीको टोलीले उनको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गरेको थियो । रानासहित साउदी अरबमा अलपत्र परेका चार नेपालीलाई आज स्वदेश फिर्ता गरिएको श्रम काउन्सेलर शत्रुधन पोखरेलले जानकारी दिए ।









