काठमाडौं– इमर्जिङ नेपाल लिमिटेडको साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) आजबाट खुलेको छ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रूपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

कम्पनीले निष्कासन गरेको ५ लाख ५५ हजार कित्तामध्ये २ प्रतिशत ( ११ हजार ११२ कित्ता) कर्मचारीलाई र ५ प्रतिशत (२७ हजार ७८० कित्ता) सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यो सेयरको लागि छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुकले न्यूनतम १० कित्ता र बढीमा हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । १० भाग जाने संख्या आवेदन गर्नुपर्नेछ ।

यो आइपिओको निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सकिने बताइएको छ ।

आइपिओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले कम्पनीलाई इक्रा एनपी आइआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

अर्थ मन्त्रालय समेतको लगानी रहेको इमर्जिङ नेपाल लिमिटेडले सार्वजनिक निजी साझेदार कम्पनीको रुपमा २०७२ साउन ३२ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भई २०७२ चैत २६ गतेदेखि कारोबार गर्दै आएको छ ।

यसले पूर्वाधार निर्माण तथा विकास निर्माणसम्बन्धी काम गर्दै आएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५० करोड ४० हजार रुपैयाँ छ । सर्वसाधारणलाई सेयर बाँडफाँटपछि चुक्ता पुँजी ५५ करोड ५६ लाख रूपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय