काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पुर्याउने उद्देश्यका साथ विभिन्न विशेषतायुक्त जीवन बीमा योजना ल्याउने क्रममा नयाँ योजना अघि सारेको जनाएको छ ।
‘प्रत्येक व्यक्तिले आफू रहँदा पनि र आफूपछि पनि आफ्नो परिवारको उज्जवल भविष्यको परिकल्पना गरेको हुन्छ । तर जीवन अनिश्चित छ, कुनै पनि समयमा घट्न सक्ने अकल्पनीय घटनाले पारिवारिक जीवनशैलीलाई नै परिवर्तन गर्छ । सबै व्यक्तिलाई आफूपछि परिवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना हुन्छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘यही चाहना पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता हुने नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको छ ।’
न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता भएको कम्पनीको भनाइ छ ।
योजनाका विशेषता:
नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । कम्पनीका अनुसार १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्र्षसम्मको बीमा अवधि लिन सकिने आइइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ । आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने छ । न्यूनतम बीमांक रकम एक लाख रुपैयाँदेखि अधिकतम बीमांक रकम एक करोडसम्मको बीमा गर्न सकिने बताइएको छ ।
उदाहरणका लागि ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड बीमांक रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिई मासिक बीमा शुल्क भुक्तानी तरिका छनोट गर्दा मासिक ५ हजार २०६ रुपैयाँ बीमा शुल्क मात्र लाग्नेछ । त्यस्तै ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड बीमांक रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिई वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनोट गर्दा वार्षिक ५८ हजार ३१० रुपैयाँ बीमा शुल्क मात्र लाग्ने छ । ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड बीमांक रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिई एकमुष्ठ बीमा शुल्क भुक्तानी गर्दा ७ लाख ३२ हजार १०५ रुपैयाँ बीमा शुल्क मात्र लाग्नेछ ।
यस योजनामा समावेश भएका अन्य सुविधामा बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्कको व्यवस्था हो । जस अनुसार वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनोट गर्दा १% छुट, अर्ध वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनोट गर्दा छैन, त्रैमासिक बीमा शुल्क भुक्तानी तरिका छनोट गर्दा ३% थप र मासिक बीमा शुल्क भुक्तानी तरिका छनोट गर्दा ६ % थप शुल्क लाग्नेछ । त्यसैगरी बीमांकको आधारमा समेत छुटको व्यवस्था गरिएको कम्पनीको भनाइ छ । २५ लाखसम्मको बीमांकमा छुटको व्यवस्था छैन भने २५ लाखभन्दा माथि बीमांकको बीमा शुल्कमा १% छुटको व्यवस्था गरिएको छ ।
समर्पण तथा कर्जा सुविधाः वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपछि समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । यो जीवन बीमा योजनामा कर्जा सुविधा भने उपलब्ध नरहेको कम्पनीले जनाएको छ ।
दुर्घटना मृत्यु लाभ सुविधा (ऐच्छिक)ः १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम एक करोड रुपैयाँसम्मको दुर्घटना मृत्यु लाभ ऐच्छिक सुविधा लिन सक्नेछन् ।
बीमांक रकम भुक्तानी पाउने अवस्थाः
पूर्ण अवधि भुक्तानः बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चातसम्म बीमित जीवित रहेमा बीमितले भुक्तानी गरेको बीमाशुल्क बराबरको रकम (ऐच्छिक सुविधा लिनेको हकमा ऐच्छिक सुविधा बापत तिरेको रकम बाहेक) बीमितलाई फिर्ता दिइने छ ।
मृत्यु दाबी भुक्तानीः
बीमालेख चालु भएको एक वर्षभित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमितले भुक्तानी गरेको बीमा शुल्क रकम मात्र फिर्ता दिइने बताइएको छ ।
बीमालेख चालु भएको एक वर्षभित्र दुर्घटनाको कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमांक रकम भुक्तानी दिइने छ ।
बीमालेख चालु भएको एक वर्षपश्चात बीमा अवधिभित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमांक रकम भुक्तानी दिइनेछ ।
यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको बीमालेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमांक रकम तथा दुर्घटना मृत्यु लाभ सुविधा बापतकोे बीमांक रकम एकमुष्ट भुक्तानी दिइने कम्पनीले जनाएको छ ।









