काठमाडौं– कुल आवेदकमध्ये ७९ हजार ४५० जनाले पाउने राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयरका लागि आवेदन खुलेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यको ८ लाख ५० हजार कित्ता सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो ।

कम्पनीले निष्कासन गरेको साधारण सेयरमध्ये पाँच प्रतिशत (४२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषलाई छुट्ट्याइएको छ । जारी पुँजीको ०.५ प्रतिशत (१३ हजार कित्ता) साधारण सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने ७ लाख ९४ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।

पछिल्लो समय बिक्रीका लागि राखिएको सेयर संख्याभन्दा कैयौं गुणा बढी आवेदन पर्ने गरेकोले यो कम्पनीको सेयर ७९ हजार ४५० जनाले मात्र पाउने छन् ।

निष्कासित सेयरमा सर्वसाधारणले यही फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । तोकिएको अवधिसम्म मागबमोजिम आवेदन नआए फागुन १८ गतेसम्म सेयर निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको हाल चुक्ता पुँजी १७ करोड ५० लाख रहेकामा सर्वसाधारणलाई खरिदका लागि खुला गरेको सेयरको बाँडफाँडपछि चुक्ता पुँजी २६ करोड पुग्नेछ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था अनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बिबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय