काठमाडौं– इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर बुधबार बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेडले उक्त सेयर बाँडफाँड गरेको हो ।
बिक्री प्रबन्धकका अनुसार ५१ हजार ६ सय ६२ जनाले १०–१० कित्ता तथा ८ जनाले ११–११ कित्ता सेयर पाएका छन् ।
उक्त सेयरमा कुल २३ लाख ३१ हजार २ सय ५८ आवेदन परेको थियो । ती आवेदनमार्फत २ करोड ६४ लाख ३० हजार ३३० कित्ता सेयर माग भएको थियो । जसमध्ये २ हजार ५ सय ५२ वटा आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले माघ २६ देखि फागुन १ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता सेयर निष्कासन गरेको थियो ।
सोमध्ये २ प्रतिशत (११ हजार ११२ कित्ता) संस्थाका कर्मचारीका लागि र ५ प्रतिशत (२७ हजार ७८० कित्ता) म्युचल फन्डका लागि सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड भएको हो ।
बाँडफाँडको नतिजा नतिजा मेरोसेयर, सिडिएससीको बाँडफाँड नतिजा हेर्ने पोर्टल, बिक्री प्रबन्धकको वेबसाइट र कम्पनीको वेबसाइटमा हेर्न सकिने बताइएको छ ।









