काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकामा ‘स्मार्ट सिटी’ बनाउन सिंगापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । यसका लागि नगरपालिकासँग गत साउनमा सम्झौता गरेको काठमाडौंस्थित इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले सिंगापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमइसी इनटरनेसनल प्रालि (एसएमइसी)सँग स्मार्ट सिटी निर्माणका लागि यसै साता सम्झौता गरेको हो ।
सम्झौता अनुसार एसएमइसीले पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रिय स्तरमा सफल अभ्यास अध्ययन–विश्लेषणसम्बन्धी कार्य गर्ने छ । यसका लागि निफ्राले आवश्यक सहजीकरण गर्नेछ भने नगरपालिकाले स्थानीयवासीसँग जग्गा प्राप्तिका लागि आवश्यक सहजीकरण गर्ने जनाइएको छ । समझदारीपत्रमा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, एसएमइसीका कन्ट्री हेड सलिम जहाँ फहिमले हस्ताक्षर गरेका हुन् ।
निफ्राले स्मार्ट सिटीको ‘बजार अध्ययन’का लागि अमेरिकन परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्टस प्रालि (जेएलएल)नामक कम्पनीसँग गत माघ तेस्रो साता सम्झौता गरिसकेको छ । सम्झौतामा उसले आठ हप्ताभित्र अध्ययन सम्पन्न गरी प्रतिवेदन पेस गर्नुपर्ने उल्लेख छ । निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ ।
करिब पाँच हजार ५०० रोपनी क्षेत्रफल ओगट्ने स्मार्ट सिटीका लागि निफ्राले नगरपालिकासँग गत साउन १२ गते सार्वजनिक–निजी साझेदारीमा (सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो । उक्त सम्झौतामा व्यवस्थित गर्नुपर्ने पूर्वाधार लगायत निजी–साझेदारी माध्यमबाट नगरपालिकालाई स्मार्ट बनाउने विषयमा सात बुँदा उल्लेख गरिएको हो । उक्त क्षेत्रफलमा निर्माण गरिने स्मार्ट सिटीका लागि पूर्वाधार निर्माणार्थ करिब दुई अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
कुल क्षेत्रफलमध्ये ६५० रोपनी जमिन नगरपालिकाले आफ्नो स्वामित्वबाट उपलब्ध गराउनेछ । निफ्राले पाँचखाल स्मार्ट सिटी विकासका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, स्थानीयवासी तथा सरोकारवालासँग छलफलसमेत गरेको जनाइएको छ । ‘ल्यान्ड पुलिङ मोडल’मा विकसित हुने स्मार्ट सिटीका लागि नगरपालिकाले प्रशासनिक र जमिन व्यवस्थापनको काम सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा तथा उसका साझेदार संस्थाले गर्ने नगरप्रमुख महेश खरेलले बताए । उनका अनुसार निफ्राले पाँचखाल स्मार्ट सिटीका लागि विदेशी तथा स्वदेशी निर्माण कम्पनीसँग साझेदारी गर्दै प्रक्रियालाई निरन्तरता दिइरहेको छ ।
उद्यमशीलताको विकास एवं प्रवर्द्धन गर्न पाँचखाल नगरले वित्तीय संस्थासँगका सम्झौता गरिरहेको छ । उद्यम गर्न चाहने स्थानीयवासीका लागि नगरको सिफारिसमा सहज रूपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले गत भदौमा नबिल बैंकसँग पनि साझेदारी सम्झौतापत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ । नगरपालिकालाई ‘कृषि सहर’का रुपमा विकसित गर्न समेत विभिन्न गतिविधि अघि बढाइएको छ । यसका लागि नगरपालिकाले हालै सम्पन्न आफ्नो १०औं नगरसभामा खेतीयोग्य जमिनमा घर निर्माण गर्न नपाउने नीति पास गरेको छ ।
२०७१ मा साबिक पाँच गाविस जोडेर पाँचखाल नगरपालिका बनाइएकामा तीन वर्षअघि पनि दुई गाविस थपेर पाँचखाललाई अझ बृहत् बनाइएको छ । १३ वडामा विभाजित सो नगरपालिकाको क्षेत्रफल १०३ वर्ग किलोमिटर रहेको छ भने हाल ३५ हजार ९९२ नागरिकको बसोबास छ ।
विकसित मुलुकमा स्मार्ट सिटीलाई सूचना प्रविधिसँग जोडिएको हरित सहर बुझिन्छ । नेपालको हकमा भने एउटा सहरमा हुनुपर्ने आधारभूत सबै प्रकारका सुविधा भएको पूर्वाधारयुक्त सहरका रूपमा लिइन्छ । पाँचखाल स्मार्ट सिटीमा सबै क्षेत्रमा विद्युत्, विद्यालय, कलेज, अस्पताल, विविध पार्क, बजार, ढल–निकास, बसपार्क तथा सिनेमा हलजस्ता सुविधा हुनेछन् ।









