काठमाडौं– रुस–युक्रेन तनावले विश्वभर तेलको आपूर्तिमा अवरोध खडा गर्न सक्ने डर बढेसँगै कच्चा तेलको मूल्य उकालो लागेको छ । आगामी दिनमा मूल्य अझै उकालो लाग्ने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बे्रन्ट कच्चा तेलको मूल्य सात वर्षकै उच्च बिन्दुमा पुगेको बिबिसीले जनाएको छ । मंगलबार ब्रेन्ट क्रुड प्रतिब्यारेल ९७.७६ डलरमा कारोबार भइरहेको छ ।
रसियाले युक्रेनको पूर्वी भेगबाट अलग भएका दुई क्षेत्र, डोनेट्स्क र लुहान्स जनगणतन्त्रलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएपछि रुस–युक्रेन तनाव चुलिएको हो । यसको असर एसियाली, अमेरिकी र युरोपेली सेयर बजारमा पनि देखिएको छ ।
उक्त कदमसँगै कैयौं युरापेली मुलुक र अमेरिकाले रसियामाथि प्रतिबन्धको चेतावनी दिएका छन् । रसिया संसारकै दोस्रो ठूलो तेल निर्यातक मुलुक हो । तेल निर्यातको पहिलो नम्बरमा साउदी अरेयिबा छ । रसिया प्राकृतिक ग्यासको विश्वकै सबैभन्दा ठूलो उत्पादक पनि हो ।
रसियाले डोनेट्स्क र लुहान्स्क जनगणतन्त्रमा शान्ति स्थापनाका लागि आफ्ना सैनिक खटाउने जनाएको छ । अमेरिकाले रसियाको निर्णयलाई ‘ननसेन्स’ भन्दै रसियाले युद्धको बहाना खोजिरहेको आरोप लगाएको छ ।
मनुलाइफ इन्भेस्टमेन्ट म्यानेजमेन्टका सुई ट्रिन्हले युक्रेन–रसिया संकटको ठूलो प्रभाव पर्न सक्ने बताइन् । युरोपेली र अमेरिकी प्रतिबन्धले रुसबाट हुने कच्चा तेल र प्राकृतिक ग्यासको आपूर्ति घट्ने र त्यसबाट विशव अर्थतन्त्रमा महत्त्वपूर्ण असर पर्ने उनको अनुमान छ ।
फिडेलिटी इन्टरनेसनलका इन्भेस्टमेन्ट डाइरेक्टर माइके कुरीले युक्रेन संकट, अमेरिकाको चिसो हिउँद तथा विश्वभरको तेल र ग्यास आपूर्तिमा लगानी अभावका कारण कच्चा तेलको प्रतिब्यारेल मूल्य १०० अमेरिकी डलरभन्दा माथि जान सक्ने बताइन् ।
विश्वका खपत हुने प्रत्येक १० ब्यारेल तेलमा रुसको हिस्सा १ भाग हुने भएकाले तेलको मूल्यमा उसलाई प्रमुख खेलाडी मानिन्छ ।









