काठमाडौं– कलकत्तै काइँयो लगायत लोकप्रिय गीतका गायक तथा कलाकार जयनन्द लामाको रहस्यमय रुपमा निधन भएको छ । लामालाई बुधबार बिहान आफ्नै घरअगाडि मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पाका ६६ वर्षीय कलाकार लामा भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा बसोबास गर्थे । लामाको बिहान निधन भएको चलचित्र निर्माता एवं छिमेकी सञ्जय कुटुले जानकारी दिए ।
लामाको शव भेटिएको ठाउँमा रगतको आहाल जमेको पाइएको छ । बिहान करिब ३ बजेतिर निजी कार घर अगाडि पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएर अत्यधिक बगेपछि त्यसकै कारण उनको निधन भएको हुन सक्ने घटनास्थल पुगेका महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको छ । लामा आफैंले हाँक्ने गरेको बा३च ७७४१ नम्बरको कार उनको घरनजिकै पार्किङ गरेको पाइएको छ । शरीर घोप्टो परेको अवस्थामा लामालाई देखेपछि छिमेकीले बिहानै घटनाबारे उनको परिवारलाई जानकारी गराएका थिए ।
लोकगायक, संगीतकार, गीत संकलक, अभिनेता, निर्माता तथा निर्देशक लामा पाँच दशकदेखि कलाकारिताको क्रियाशील थिए । ‘कलकत्ते काइँयो केश मेरो बांगोे, टेबुलमा ऐना छ, पिरती मैले नलाको हैन तक्दिरमा रैनछ’ गीत गाएर निकै चर्चामा आएका लामाले ‘पानी प¥यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं, नक्कलीलाई पातलीलाई कसरी बिहे गरुँ, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो, बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता लोकगीत अझै पनि उत्तिकै लोकप्रिय छन् ।
२०३० सालमा मनको बाँध चलचित्रबाट पहिलोपटक अभिनय यात्रा सुरू गर्नुभएका लामाले लोकगीतको शब्द संकलन, गायन, संगीत तथा निर्देशनसमेत गर्दै आउनुभएको थियो । एक सयभन्दा बढी चलचित्र र दर्जनौं टेलिचलचित्र, केही म्युजिक भिडियोमा समेत अभिनय गरेका उनले पछिल्लो समय हाँस्य टेलिशृंकला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आएका थिए ।
विभिन्न विद्यालयमा उनी संगीत गुरुका रूपमा सक्रिय थिए । प्रहरीले लामाको शव परीक्षणका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज लगेको छ । शव परीक्षणपछि उनकै निवासमा श्रद्धाञ्जलिका लागि राखेर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने लामाको परिवारले जानकारी दिएको छ । लामाका श्रीमती र दुई छोरा छन् ।









