काठमाडौं– यौन दुर्व्यवहारको विवादमा मुछिएका अभिनेता पल शाहले प्रहरीसामु आत्मसमर्पण गरेका छन् ।
तनहुँ प्रहरीले शाह आफ्नो नियन्त्रणमा रहेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार उनी अहिले कार्यालयको नियन्त्रणमा छन् ।
आफूविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी परेपछि उनले प्रहरीसामु आत्मसमर्पण गरेका हुन् ।
अभिनेता शाहले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीसामु आफैं उपस्थित हुने जानकारी दिएका थिए । फागुन ११ गते उनीविरुद्ध तनहुँ प्रहरीमा किटानी जाहेरी परेको थियो ।
किटानी जाहेरी परेपछि प्रहरीले जिल्ला अदालत तनहुँबाट पक्राउ पुर्जी लिएर उनको खोजी सुरु गरेको थियो । त्यसपछि शाह फरार भएको चर्चा चल्न सुरु भएको थियो ।









