काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले अंगदानको घोषणा गरेका छन् । स्वास्थ्य सेवा दिवस–२०७८ को अवसरमा आज यहाँ आयोजित समारोहमा उनीहरुले मरणोपरान्त आफ्ना अंगदान गर्ने घोषणा गरेका हुन् ।
सो अवसरमा मन्त्री खतिवडाले आगामी चैतभित्र सबै नेपालीलाई कोभिड विरुद्धको खोप पूरा गर्ने बताए । स्वास्थ्य क्षेत्रमा भएका कमीकमजोरीलाई सुधार गरेर अगाडि बढने प्रतिबद्धता व्यक्त गर्दै उनले कोभिडको समयमा क्रियाशील रहेका सबै स्वास्थ्यकर्मीको सराहना गरे ।
स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङको उपस्थितिमा भएको कार्यक्रममा मुख्यसचिव बैरागीले दिवसको सफलताको शुभकामना दिँदै गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकमा पु¥याउन आवश्यक रहेको विचार व्यक्त गरे । स्वास्थ्य सचिव देवकुमारी गुरागाईंले कोभिड खोप अभियानमा उल्लेख्य प्रगति भएको गरे ।
त्यस अवसरमा १ लाख राशिको उत्कृष्ट स्वास्थ्यकर्मी पुरस्कार डा जीतेन्द्र कँडेललाई र ५० हजार राशिको स्वास्थ्य सेवा पुरस्कार धनकला थापा, ओमराज आचार्य, रामप्रवेश साह र योगेन्द्र कट्टेललाई प्रदान गरिएको थियो । सोही कार्यक्रममा स्वास्थ्यकर्मी सम्मान १० जनालाई प्रदान गरिएको थियो ।









