काठमाडौंं– रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना रक्षा सैनिकलाई आणविक हतियारहरु तयारी र विशेष सतर्क अवस्थामा राख्न आदेश दिएका छन् ।

रुसको सरकारी समाचार संस्था स्पुतनिक न्युजका अनुसार युक्रेनमाथि रुसले गरेको सैन्य कारवाहीलाई लिएर पश्चिमा शक्तिहरुले उत्तेजक अभिव्यक्ति दिएपछि उनले प्रतिरक्षा प्रमुखहरुलाई त्यस्तो आदेश दिएका हुन् ।

बेलायती विदेशमन्त्री लिज ट्रसले रसियाले युक्रेनमा जारी विशेष सैन्य अपरेसन नरोके नाटो मुठभेडमा उत्रन सक्ने बताएकी थिइन् । ट्रसले स्काई न्युजको ट्रेभोर फिलिप्स अन सन्डे कार्यक्रममा बोल्दै युक्रेनमा दुश्मनी कैयौं वर्ष लम्बिन सक्ने तथा मस्को नरोकिए मोल्दोभा, पोल्यान्ड र अन्य बाल्टिक राज्यहरु जोखिममा पर्ने पनि बताइन् ।

युरोपेली युनियनले पनि रसियाविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गर्दै युक्रेनमा लडाकु जहाज पठाउने र किभलाई वित्तीय सहयोग गर्ने बताएको थियो । त्यसपछि पुटिनले आणविक प्रतिरोधी फौज र आणविक हतियार तयारी अवस्थामा रहन आदेश दिएका हुन् । युरोपेली युनियनले रसियाली जहाजहरुलाई युरोपेली आकासमा उड्न पनि प्रतिबन्ध लगाएका छन् । त्यसैगरी, रसियाको सरकारी समाचार संस्थाहरु स्पुतनिक र रसिया टुडेलाई युरोपेली भू–भागमा प्रतिबन्ध लगाइएको छ ।

आणविक प्रतिरोधी फौज र हतियार तयारी अवस्थामा राख्न आदेश दिनुको अर्थ रसिया आणविक हतियार प्रयोग गर्न इच्छुक छ भन्ने चाहिँ होइन । अमेरिकाले रुसको उक्त निर्णयलाई ‘अस्वीकार्य उत्तेजना’ भन्दै निन्दा गरेको छ ।

गत साता पुटिनले युक्रेनमा रुसलाई रोक्न खोज्नेले ‘इतिहासमा अहिलेसम्म नदेखेको’ मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए । पुटिनले प्रयोग गरेको उक्त शब्दावलीलाई युक्रेनको मामिलामा पश्चिमी मुलुक संलग्न भएको खण्डमा आणविक अस्त्र प्रयोग गर्ने धम्कीको रुपमा व्याख्या गरिएको थियो ।

ह्वाइट हाउसले भने रसिया कहिल्यै पनि नाटोबाट जोखिममा नरहेको जिकिर गरेको छ । नाटोका महासचिव जेन्स सोल्टेनबर्गले पुटिनको टिप्पणीलाई खतरनाक वाक्पटुता भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय