काठमाडौं– धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनक रूपमा बढ्दै गएको देखिएको छ । गत असारसम्ममा करिब ३७ लाख रहेको हितग्राही खाता (डिम्याट खाता) फागुन १६ हुँदा ५० लाख नाघेको छ ।

सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार हाल डिम्याट खाताको संख्या ५० लाख सात हजार २४२ छ । त्यस्तै मेरो सेयर खाताको संख्यासमेत बढेको छ । सिडिएसका अनुसार मेरो सेयरको संख्या ४१ लाख नाघेको छ । विवरण अनुसार पछिल्लो समय डिम्याट र मेरो सेयर खाताको संख्या उल्लेख्य बढेको देखिन्छ ।

गत असार मसान्तसम्म २८ लाख ५५ हजार रहेको मेरो सेयरको संख्या ४१ लाख १९ हजार नाघेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सर्वसाधारण लगानीकर्तालाई केन्द्रीय निक्षेप सेवा सहज बनाउन तथा सेयरको अभिलेखीकरण कार्य गर्नका लागि निक्षेप सदस्यका रूपमा सेवा प्रवाह गर्ने सदस्यको संख्या समेत असार मसान्तम ७८ रहेकामा अहिले ८२ पुगेको छ ।

कुनै कम्पनीको आइपिओ खुल्दा आवेदन दिने लगानीकर्ता २५ लाखभन्दा बढी हुन थालिसकेका छन् ।

धितोपत्र बजारमा धितोपत्रको कारोबारका साथै प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को आवेदनमा समेत डिम्याट खाता अनिवार्य भएकाले यस्ता खाता खोल्ने क्रम बढेको धितोपत्र बोर्डको बुझाइ छ ।

प्राथमिक बजारतर्फ प्राथमिक निष्कासन, हकप्रद निष्कासन, ऋणपत्र तथा सामूहिक लगानी योजना गरी सबै निष्कासन अनुमति रकममा उच्च बढोत्तरी आएको छ । कम्पनीको आइपिओे निष्काशनमा भाग लिनेको संख्या उल्लेख्य बढ्नुले धितोपत्र कारोबारमा सर्वसाधारणको सहभागिता बढेको पुष्टि हुन्छ । पछिल्लो समय कम्पनीले निष्कासन गर्ने आइपिओमा २५ लाखभन्दा बढीले आवेदन गर्दै आएका छन् ।

प्रविधिको विकास र विस्तारले धितोपत्र बजारमा कारोबार गर्नेको संख्या बढेको बोर्डले उल्लेख गरेको छ । बोर्डलगायत धितोपत्र बजारसम्बद्ध निकायबाट बजारलाई प्रविधिमैत्री, लगानीमैत्री एवं देशव्यापी बनाउन विभिन्न काम भएका छन् । बोर्डबाट धितोपत्रको पूर्ण अभौतिक कारोबार हुने व्यवस्था, नेप्सेको कारोबार अनलाइनबाट हुने व्यवस्था, प्राथमिक बजारमा आस्बा तथा सी–आस्बा प्रणाली लागू, उपत्यकाबाहिर धितोपत्र दलाल तथा मर्चेन्ट बैंकरको शाखा विस्तार गर्नका लागि आवश्यक नीतिगत व्यवस्थाहरू गरेसँगै बजारमा सर्वसाधारणको सहभागिता व्यापक तथा उत्साहजनक रहेको बोर्डको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय