काठमाडौं– अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुखहरुलाई स्वागत कार्यक्रम गरी बधाई दिँदै पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ । अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो ।

बुधबार अध्यक्ष हमाल र सिइओ कार्कीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारका सुधारका लागि दुवै निकायलाई विभिन्न ११ बुँदे निर्देशन दिए । खुला प्रतिस्पर्धाबाट छानिएर आएका नयाँ नेतृत्वले कसैको दबाब र प्रभावमा परेर काम गर्न नहुने उनले बताए । अर्थमन्त्री शर्माले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पँुजी बजारबाट आउने वातावरण सिर्जन गर्न पनि निर्देशन दिए । पुँजीबजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानीको सुरक्षा गर्ने मुख्य उदेश्यले दुवै निकायमा नयाँ नेतृत्व छनोट गरेको उनको भनाइ छ ।

सो अवसरमा अर्थमन्त्री शर्माले पुँजीबजारमा लगानी भएको पैसा ठूला परियोजनामा आउने वातावरण सिर्जना गर्नुपर्नेसमेत बताए । ‘जनतामा भएको पैसा पुँजीबजारमा त आयो । अब यो पैसालाई पूँजी निर्माणमा लगाउन सक्नुपर्यो । ठूला परियोजनामा पुँजी लगानी गर्ने विषयमा तपाईंहरु (धितोपत्र बोर्ड र नेप्सेका अधिकारी) ले ध्यान दिनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय महत्त्वका आयोजनामा कसरी लगानी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु अहिलेको पुँजीबजारको आवश्यकता हो ।’

साथै उनले पुँजी बजारमा राजनीति नगर्न पनि आग्रह गरे । ‘पुँजी बजारमा राजनीति गर्नु हुँदैन । यसलाई स्वचालित ढंगले चल्न दिनुपर्छ,’ अर्थमन्त्री शर्माले भने, ‘फलानो मन्त्री यस्तो भयो भन्दै चलखेल गर्नु हुँदैन ।’ मन्त्री शर्माले कार्यभार सम्हाल्नेबित्तिकै पुँजीबजारका समस्या हल गर्न प्राथमिकता दिएर काम गरेको स्मरण गराउँदै सुधारको कार्य थालनी गर्ने क्रममा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा नयाँ नेतृत्व चयन गरेको बताए । नयाँ नेतृत्वले मुलुकको पुँजीबजारलाई सुधार गरी नयाँ ठाउँमा पुर्याउने विश्वास व्यक्त गरे ।

उनले इन्साइडर ट्रेडिङ, पम्प एड डम्प र सर्कुलर कारोबार जस्ता विकृत क्रियाकलाप आउँदो दिनमा पुँजीबजारमा नदेखिने गरी काम गर्न निर्देशन दिए । ‘म मन्त्रालयमा आउनासाथ सर्कुलर कारोबार, पम्प एन्ड डम्प र इन्साइडर ट्रेडिङ जस्ता विकृत कारोबारका विषयमा कसैले आधिकारिक रुपमा केही भनेको थिएन । म आएपछि यो विकृतिबारे बोलिएको र छानबिन गरी कारबाहीको दायरामा ल्याइएको छ’ उनले भने, ‘त्यसैले आउँदा दिनमा पनि यस्ता विकृत कारोबार मान्य हुँदैन ।’

उनले साना लगानीकर्ताको पुँजीबजारमा प्रवेश गराउने, अहिले कारोबार गरिरहेका साना लगानीकर्तालाई सुरक्षित गर्ने, ओटिसी बजारलाई प्राथमिकता दिने, नेप्से र धितोपत्र बोर्डबीच आसपसी तालमेल गर्ने, सेयर सूचीकरणमा आउन नसकेका कम्पनीलाई सहजीकरण गर्ने, ब्रोकरको क्षमता बढाउने, सफ्टवेयरको क्षमता विकास गर्ने, टिएमएसबाट थप सेवा सुचारु गर्ने लगायत निर्देशन दिए ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले नयाँ नेतृत्वले पुँजी बजारलाई सकारात्मक बाटोमा डोर्याउने विश्वास लिएको बताए । त्यस्तै राजस्व सचिव कृष्णहरि पुस्करले सेयर बजार धेरै सुधार हुँदै गएको र भएका कमी–कमजोरीलाई अर्थ मन्त्रालयको निर्देशनमा पारदर्शी रुपमा सुधार्ने काम जारी रहेको बताए । उनले अन्तर्राष्ट्रिय बजारसँग पनि प्रतिस्पर्धी हुने गरी नेपालको सेयर बजारलाई अगाडि बढाउन निर्देशन दिए ।

धितोपत्र बोर्डको नवनियुक्त अध्यक्ष रमेश हमालले वित्तीय साक्षरताका क्षेत्रमा धेरै काम गरेर सेयर लगानीकर्ताहरुलाई सु–सूचित गर्ने बताए । उनले साक्षरताकै अभावमा लगानीकर्ताहरु हल्ला गर्ने वा हल्लाको पछी लाग्ने देखिएको बताए । त्यस्तै ठूलो ‘मार्केट मेकर’ को अभाव देखिएको उनको भनाई थियो । नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले लगानीकर्ताको गुनासो नआउने गरी काम अगाडी बढाउने प्रतिबद्धता जनाए ।

अर्थमन्त्रीको उक्त निर्देशनले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ ।

अर्थमन्त्री शर्माले दिएका ११ निर्देशनः
१) कोभिड १९ को महामारीबीच पुँजीबजारलाई लगानीकर्तामैत्री बनाउने गरी नेपालको पुँजीबजारलाई कसरी अघि बढाउने भन्ने विषयमा छिमेकी मुलुकहरु भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा कसरी पुँजीबजार सञ्चालन भएको छ भन्ने अध्ययन गर्ने ।

२) पुँजीबजारबाट कसरी पुँजी निर्माण गर्न सक्छौं ? कसरी लगानीकर्तालाई उच्चतम प्रतिफल प्रदान गर्न सक्छौं र राष्ट्रिय महत्त्वका आयोजनामा आवश्यक लगानी कसरी व्यवस्था गर्न सक्छौं भनेर अध्ययन गर्नुपर्नेछ । ठूला पूर्वाधार, उत्पादन, पुँजी निर्माणका लागि पुँजी संकलन गर्ने व्यवस्था मिलाउने ।

३) २० कात्तिक ०७५ देखि नयाँ टिएमएस भित्रिएको छ । यसले केही सहजता ल्याए पनि अझै प्रयोगकर्तामैत्री छैन भन्ने गुनासो छ । यस्ता गुनासो समाधान गर्नुपर्नेछ ।

४) लगानीकर्ता समान स्तरका नहुने हुँदा साना कम्पनी, स्टार्टअप कम्पनीहरुलाई पनि पुँजीबजारमा प्रवेश गर्ने बाटो खुला हुनुपर्छ । विशेषगरी एसएमई तथा ओटिसी बजारको विकास गरी भेन्चर क्यापिटलसमेतको आधारमा साना कम्पनीहरुको लागि आवश्यक बजार विकास गर्नुपर्छ ।

५) सूचीकरणमा आउन नसकेका तथा आइपिओको लागि योग्य भई नसकेको विभिन्न पब्लिक लिमिटेड कम्पनीको सेयरलाई ओटिसी बजार विकास गरी कारोबार गर्ने व्यवस्था मिलाउने । आउँदा दिनमा इन्ट्रा डे कारोबार र सर्ट सेलिङ गर्न मिल्ने गरी प्रणाली सुधार गर्ने ।

६) अटोमेसन अक्सन सुरु गर्ने । अक्सन बजार लिलामीबाट सुरुमा बिक्री हुन नसकेका सेयर र खरिद–बिक्री हुन नसकेका कारोबारको देशभर सबै लगानीकर्ताले खरिद गर्न पाउने व्यवस्था मिलाउने ।

७) ब्रोकरलाई सक्षम बनाउन ‘सब–ब्रोकर’ मोडल तयार गर्ने । डेरिभेटिभ्स औजार बनाई कारोबार गर्ने । कमोटिभी एक्सचेन्जसम्बन्धी ऐनलाई अगाडि बढाउने । यो ऐन बनेको ४ वर्ष भयो ।

८) अर्थतन्त्रको प्रतिनिधित्व गर्ने वैज्ञानिक तवरले निर्माण गरिएको नयाँ परिसूचक तयार गर्ने । भारतमा बम्बई स्टक एक्सचेन्ज, अमेरिकाको डाउ जोन्स तथा नास्डाक जस्ता परिसूचक निर्माण भएका छन् । त्यसबाट शिक्षा लिने । मार्केट क्यापका आधारमा लार्ज क्याप इन्डेक्स, मिड क्याप इन्डेक्स र स्मल क्याप इन्डेक्स बनाई बजार परिसूचकलाई थप व्यवस्थित गर्ने ।

९) उत्पादनमूलक धेरै कम्पनीहरु सेयर मार्केटभन्दा बाहिर रहेकाले सेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्ने । इन्डेक्स फन्ड तथा टे«डेट फन्डको सुरुवात गर्ने ।

१०) ब्रोकरलाई मार्जिन ल्याण्डिङ दिने कुरा लागू गर्ने । ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकिङ संस्थाहरुमार्फत मार्जिन ल्यान्डिङ प्रक्रिय अगाडि बढाउने ।

११) सर्कुलर कारोबार, पम्प एन्ड डम्प र इन्साइडर ट्रेडिङ रोक्ने । पुँजीबजारसम्बन्धी जनचेतना, पुँजी बजार साक्षरताको सञ्चालन, तालिम केन्द्रको स्थापना गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय