काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति लिन आह्वान गरेको छ । उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगहरुलाई १३२ केभीबाट विद्युत् आपूर्ति दिने जनाएको छ ।

त्यस क्षेत्रका उद्योगहरुले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत् आपूर्ति लिइरहेका छन् । १३२ केभीबाट विद्युत् आपूर्ति लिएमा त्यसको महसुल सस्तो छ । उद्योगहरुले आफ्नो परिसरमा सबस्टेसन भने आफैंले निर्माण गर्नु पर्नेछ । महसुल सस्तो पर्ने र चुहावट पनि कम हुने भएकोले त्यसको तुलनामा सबस्टेसन निर्माण महँगो पर्दैन ।

प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट विद्युत् खपत हुने गरी पूर्वाधार बनाउन बनाउन पहल सुरु गरेको छ । बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगन्ज, परवानीपुर, पोखरिया, प्रसौनी लगायत क्षेत्रमा हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा उच्चस्तरीय टोलीले शनिबार त्यस क्षेत्रको स्थलगत अवलोक भ्रमण गरी ४०० र १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत् माग तथा खपतको अवस्था लगायत विषयमा जानकारी लिएको छ ।

कार्यकारी निर्देशक घिसिङले बारा–पर्सा क्षेत्र आगामी दिनमा ठूलो औद्योगिक हब बन्ने सम्भावना देखिएकोले उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिएको बताए । घिसिङले विरगन्ज, पोखरिया र सुक्खा बन्दरगाह क्षेत्रमा नयाँ उद्योग खुल्ने ठूलो सम्भावना देखिएको बताए ।

‘त्यस क्षेत्रमा खुल्ने उद्योग र अन्य सर्वसाधारणलाई लक्षित गरी दुई हजार मेगावाट खपत हुने गरी विद्युतीय प्रणाली बनाउँदैछौं, तत्काल विद्युत् माग गर्ने उद्योगलाई ११, ६६ र १३२ केभी लाइनको सुदृढीकरण गरी मागेजति थप विद्युत् आपूर्ति उपलब्ध गराउने छौं,’ घिसिङले भने, ‘पर्साको पोखरियामा ४०० केभी र बाराका प्रसौनीमा १३२ केभी सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइसकेका छौं ।’

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरी उक्त लाइनलाई वीरगन्ज हुँदै पोखरियामा पुर्याइने छ । बाराको पिलुवा र अमलेखगन्ज सबस्टेसनको तत्काल सुदृढीकरण तथा स्तरोन्नति गरिने घिसिङले बताए ।

सिमरा र वीरगन्ज क्षेत्रका उद्योगहरुको विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउन हेटौंडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भएको छ ।

यसबाट प्रसारण लाइनको क्षमता झन्डै दोब्बर हुने भएकोले उद्योगहरुलाई थप विद्युत् आपूर्ति दिन सकिने प्राधिकरणको भनाइ छ । उद्योगहरुलाई भरपर्दो र गुणस्तरीय विद्युत् दिन पूर्वाधार संरचनाको निर्माण तथा जनचेतनामा अधिकतम प्रयास गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय