काठमाडौं– राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले सरकारसमक्ष ६ बुँदे मागपत्र पेस गर्दै माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । समितिले नेपाल आयल निगमसमक्ष पेस गरेको माग पूरा नभए चैत ५ गतेबाट आन्दोलन गर्ने जनाएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन तथा नेपाल पेट्रोलियम दुवानी व्यवसायी महासंघमा आवद्ध व्यवसायी सम्मिलित उक्त समितिले आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

समितिले पेट्रोलियम ऐन बनाई तत्काल लागू गर्नुपर्ने तथा एलपिजी विनियमावली, बिक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यावसायिक संस्थाको प्रतिनिधिसहितको सहभागितामा परिमार्जन सहित संशोधन गर्नुपर्ने माग राखेको छ ।

मागपत्रमा आयल निगममार्फत पेट्रोलियम व्यावसायिक प्रतिष्ठानको कारोबारमा हालको अवस्था तथा भविष्यमा गरिनुपर्ने सुधार तथा योजनाबारे अध्ययन गरी लागू गर्नुपर्ने, सरकारले यातायात क्षेत्रमा लागू गरेको वैज्ञानिक भाडादर पेट्रोलियम ढुवानी साधनमा समेत लागू हुनुपर्ने तथा पेट्रोलियम बिक्रेताले प्रतिशतमा पाउँदै आएको कमिसन स्थगन भएकोमा फागुन १९ गतेबाट नै पाउनुपर्ने माग गरिएको छ । यस्तै, एलपी ग्यास ढुवानी गर्ने साधनको भाडादर स्वचालित हुनुपर्ने माग पनि रहेको छ ।

समितिले अघि सारेका आन्दोलनका कार्यक्रममा चैत ५ गतेदेखि १५ गतेसम्म स्थानीय स्तरका पेट्रोलियम व्यवसायीहरु स्थानीय एसोसिएसन, पेट्रोलियम ढुवानी व्यवसायी संघ, तथा एलपी ग्यास उद्योग संघका स्थानीय प्रतिनिधिहरुबाट स्थानीय स्तरका आन्दोलन समिति गठन गर्ने रहेको छ ।

चैत ६ गतेबाट सम्पूर्ण एलपी ग्यास उद्योगहरुले नेपाल आयल निगमबाट पिडिओ खरिद नगर्ने तथा चैत १० गतेबाट सम्पूर्ण एलपी ग्यास उद्योगहरुले भारतका सबै रिफाइनरीबाट एलपी ग्यास लोड बन्द गर्ने आन्दोलनका कार्यक्रम अघि सारिएको छ ।

चैत १४ गतेबाट एलपी ग्यास उद्योगहरुले सबै नाकाबाट भन्सार छुटाउने कार्य नगर्ने, चैत १६ गतेबाट राज्यभरका पेट्रोलियम पदार्थको ढुवानी ट्यांकरहरुले पिडिओ नलिने भनिएको छ ।

समितिले चैत १७ गतेबाट राज्यभरका एलपी ग्यास उद्योगहरुबाट बिक्रेतालाई बिक्री बितरण बन्द गर्ने, चैत १८ गतेबाट पेट्रोलियम ढुवानी ट्यांकरहरुले लोडिङ अनलोडिङ बन्द गर्ने तथा बिक्रेताले निगमको डिपोबाट पेट्रोलियम पदार्थ खरिद बन्द गर्ने जनाइएको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत चैत २० गतेदेखि माग पूरा नभएसम्म ग्यास बिक्री बन्द गर्ने चेतावनी दिएका छन् । पेट्रोलियम ढुवानी ट्यांकरहरुले ढुवानी कार्य बन्द गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय