काठमाडौं– नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी बिन्दुमा पुगेको छ । बुधबार प्रतितोला २५०० रुपैयाँले बढेपछि सुनको मूल्यमा १ लाख ५ हजार ५०० रुपैयाँको कीर्तिमान बनेको हो ।
नेपाली बजारमा सुनको मूल्य यो बिन्दुमा पुगेको पहिलोपटक हो । रुस–युक्रेन द्वन्द्वले उत्पन्न अनिश्चितताले विश्व बजारमा सुनको मूल्य बढेको र त्यसको असर नेपाली बजारमा परेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ तोकेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ तोकेको छ । चाँदीको मूल्य १४५० तोकेको छ । महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा हरेक दिन सुनचाँदीको मूल्य तोक्ने गर्छ ।









