त्रिशूली– नुवाकोटको बेलकोटगढी नगरपालिका–३ कुमरीबाट धादिङको धुनीबेसी नगरपालिका–४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन सडक डिभिजन नुवाकोटले सम्बन्धित ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।

तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएको पाइएसँगै सञ्चालनको तयारीमा रहेको पक्की पुल भत्काउन सो कार्यालयले निर्माण व्यवसायीलाई निर्देशन दिएको हो । २०७३ असार १ गते भएको सम्झौता अनुसार निर्माण व्यवसायी नागार्जुन/जयबाबा/काष्ठमण्डप जेभीले निर्माण गरेको पक्की पुलको दुई स्पानमध्ये नुवाकोटतर्फको स्पान भत्काएर अर्को बनाउन निर्देशन दिएको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिए ।

उनका अनुसार पुलको स्पान ढलान गरेपछि यसलाई तन्काउने क्रममा चर्किएसँगै भत्काएर नयाँ स्पान राख्न निर्माण व्यवसायीलाई पत्र पठाइएको छ ।

गत आइतबार निर्माण व्यवसायीलाई जारी गरिएको पत्रमा ‘सडक विभाग, पुल महाशाखाबाट स्वीकृत गरिएको डिजाइन अनुसार नभएकाले त्यसलाई भत्काएर पुनःनिर्माण गर्न’ उल्लेख गरिएको छ । भत्काउनुपर्ने पुलको स्पान दुरी ३० मिटरको छ ।

‘गत वर्ष फागुनमा स्पान निर्माणको क्रममा गुणस्तरहीन बालुवा प्रयोग र तोकिएको परिमाणभन्दा कम सिमेन्ट प्रयोग गरेर ढलान गरिएको पाइएको प्राविधिक अध्ययनमा देखिएको छ,’ उनले भने, ‘ढलान गरिएको स्पानको डोरी तन्काउँदा पड्किएसँगै पुल जोखिमपूर्ण बनेकाले त्यसलाई सुधार गर्न भने पनि अटेर गरेर थप निर्माण गरेसँगै भत्काएर अर्को बनाउन अहिले निर्देशन दिइएको हो ।’

यसअघि मौखिक र पत्रमार्फत दिएको निर्देशन नटेरेर ठेकेदार कम्पनीले निरन्तर पुल बनाएको थियो । सम्झौता विपरीतको जोखिमपूर्ण पुल सञ्चालनमा ल्याए दुर्घटना हुने सक्ने हुँदा अहिलेको संरचना जतिसक्दो चाँडो भत्काएर अर्को स्पान राख्न निर्माण व्यवसायीलाई भनिएको छ ।

‘दिइएको निर्देशनको पालना नगरे निर्माण व्यवसायीलाई कारबाही र ठेक्कासमेत रद्द हुने कानुनी व्यवस्था भएकाले त्यसतर्फ जान बाध्य हुन्छौं,’ डिभिजन प्रमुख रिमालले भने । पुल निर्माणका लागि ६ वर्षअघि ८ करोड १४ लाखको ठेक्का लगाइएकामा निर्माण व्यवसायीले ६ करोड २३ लाखमा बनाउने गरी जिम्मेवारी पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय