काठमाडौं– ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जेसिआई काठमाडौं लेडीले नारी सम्मान कार्यक्रम गरेको छ ।
नारीहरुको व्यक्तित्व र नेतृत्व विकास गर्दै आइरहेको जेसिआई काठमाडौं लेडीले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलालाई सम्मान गरेको छ ।
कार्यक्रममा समाजसेवी सामाजिक कार्यकर्ता सृष्टि केसी, वरिष्ठ बाल चिकित्सक डा. शान्ता भट्ट, नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी प्रथम क्याप्टेन रितु कनौजिया, संगीत क्षेत्रकी तबलाबादक सरिता मिश्र, हेभी लामो दुरी गाडी चालक प्रथम महिला रेबिका थापालाई सम्मान गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रम जेसिआई काठमाडौं २०२२ को अध्यक्ष जेसी सोनी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । सम्मान कार्यक्रमले महिलामा थप ऊर्जा उत्पन्न हुने र महिला सशक्तीकरणमा नयाँ आयाम थपिने जेसिआई काठमाडौं लेडीको अध्यक्ष सोनी श्रेष्ठले बताइन् ।
कार्यक्रममा विशेष अतिथि जेसिआई काठमाडौं लेडीको पूर्वअध्यक्ष, जेसिआई नेपालका पूर्वअध्यक्ष, जेसिआई उपाध्यक्ष सिनेटर कृती तुलाधर, अतिथि जेसिआई नेपाल क्षेत्र ग को लागि निरुपित जेसी रमा प्याकुरेल, जेसिआई नेपाल क्षेत्र ग अन्तर्गत जेसिआई काठमाडौं लेडीको लागि निरुपित जेसी योगीराज अधिकारी, साथै नेपाल जेसिसको उपाध्यक्ष क्षेत्र ग को लागि निरुपित जेसी जीवन कार्की लगायतको उपस्थिति रहेको थियो ।
सम्मान कार्यक्रममा जेसिआई काठमाडौं लेडीको निवर्तमान अध्यक्ष जेसी रिन्कु बज्राचार्यले जेसिजको आस्था पाठ गराएकी थिइन् । स्वागत मन्तव्य जेसिआई काठमाडौं लेडी २०२२ को कार्यकारिणी उपाध्यक्ष जेसी शर्मिला नकर्मीले राखेकी थिइन् भने धन्यवाद मन्तव्य जेसिआई काठमाडौं लेडी २०२२ को उपाध्यक्ष तथा कार्यक्रम संयोजक जेसी शान्ता भट्टराईले राखेकी थिइन् । सम्मान कार्यक्रम नेपाल जेसिज भवन थापाथलीमा भएको थियो ।









