काठमाडौं– माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निश्कासन गरेको सेयर बापतको बाँकी रकम छिट्टै संकलन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता सेयर निष्कासन गरी प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो ।
जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ सेयर बापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको सेयर बापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नुपर्ने व्यवस्था छ । ‘कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकोले सेयरधनीले चुक्ता गर्न बाँकी ९० रुपैयाँ संकलनका लागि छिट्टै आह्वान गरिने छ साथै सर्वसाधारण समूहमा रहेका अन्य सेयर पनि निष्कासन प्रक्रिया अघि बढाइने छ’, प्रबन्ध–सञ्चालक गौतमले भने ।
आयोजनाका प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०–३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहनेछ । अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँ रहेको आयोजनाको निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।
आयोजनाबाट सुक्खायाममा (मंसिर १६ देखि जेठ १५ सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मंसिर १५ सम्म)े १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ ।









