काठमाडौं– अर्थमन्त्री जनार्दशन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । आइतबार बिहान भन्सार विभाग, त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाइले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए ।
‘देशको अर्थतन्त्र यतिबेला चुनौतीपूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही वस्तुको आयातमा मार्जिन राखेका छौं,’ उनले भने, ‘यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर यो सधैंका लागि राखिएको होइन । हाम्रो बाध्यकारी परिस्थितिले यो अवस्था सिर्जना भएको छ । स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्नेछ ।’
उनले भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न, नीतिबाट सिर्जित नयाँ चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न गोष्ठी प्रभावकारी हुने विश्वास लिएको बताए । त्यस्तै वस्तु आयातमा गरिएको वर्गीकरणसम्बन्धी व्यवस्थाले व्यवसायीमा असन्तुष्टि देखिएकाले त्यसलाई पनि गोष्ठिका माध्यमबाटै समाधानको सुत्र पहिल्याउन पनि उनले निर्देशन दिए ।
उनले भन्सार कार्यालयहरुमा प्रयोग हुने भेहिकल स्क्यानिङ सम्बन्धी निर्देशिका बन्दै गरेको र चाँडै कार्यान्वयनमा आउने जानकारी दिए । व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अघि बढ्न सबै कर्मचारीलाई उनले निर्देशन दिए । माघ मसान्तसम्म लक्ष्यभन्दा बढी भन्सार राजस्व परिचालन गरेकोमा उनले खुसी व्यक्त गरे ।
भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म ३ खर्ब ५ अर्ब राजस्व संकलनको लक्ष्य भए पनि आयातमा गरिएको कडाइका बाबजुद ३ खर्ब ८ अर्ब राजस्व संकलन भएको जानकारी दिएका थिए । यो गत वर्ष सोही अवधिको तुलनामा २९ प्रतिशत बढी हो ।
सो अवसरमा अर्थमन्त्री शर्माले निर्यातमा सुधार भइरहेकामा खुसी व्यक्त गरे । ‘कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिश नाघेको छ । हामीले माघ मसान्तसम्म १ खर्ब ३१ अर्बको निर्यात गरेका छौं,’ उनले भने, ‘तर, हामी यतिमा रोकिनु हुँदैन । प्रत्येक वर्ष १० प्रतिशतका दरले निर्यातमा हिस्सा थप्दै एक दिन आत्मनिर्भर हुने बाटोमा जानुपर्छ ।’ उनले सबै कर्मचारीलाई मेहनत गरेर राजस्व प्रशासन र राजस्व परिचालनमा उत्कृष्ट काम गर्न निर्देशन दिए ।









