काठमाडौं– धितोपत्र बजारको मानक नेप्से परिसूचक आइतबार उच्च बिन्दुले बढेको छ । सातामा सेयर कारोबार हुने पहिलो दिन नेप्से १०१.०७ बिन्दुले बढेर २६६७.९७ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबारको वृद्धि ३.९४ प्रतिशत हो । यस दिन ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.३७ बिन्दुले उकालो लागेर ५०९.९० मा पुगेको छ ।
नेप्सेमा उच्च वृद्धि भए पनि कारोबार रकम भने उल्लेख्य मात्रामा बढेको छैन । २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता सेयर ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ मूल्यमा खरिदबिक्री भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहकै सेयर सूचक बढेका छन् । बैंकिङ ५४.७१, व्यापार ११३, होटल तथा पर्यटन १५८.६९, विकास बैंक २१०.५६, जलविद्युत् ७५.६५, वित्त १०७.०१, निर्जीवन बिमा ५६७.८७, उत्पादन ३०८.०६, अन्य ८६.६२, लघुवित्त १६३.७८, जीवन बिमा ९२२.१६, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.८१ बिन्दुले उकालो लागेको छ ।
आइतबारको कारोबारपछि बजार पुँजीकरण ३७ खर्ब ८० अर्ब ७७ करोड १२ लाख ९२ हजार ८६९ पुगेको छ । आइतबार कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको ३४ करोड ३६ लाख ५० हजार ९५४ बराबरको सेयर किनबेच भएको छ ।
यस्तै अपि पावर कम्पनीको ३० करोड १७ लाख ३० हजार ५७०, आइसिएफसी फाइनान्सको २१ करोड ३१ लाख १३ हजार ८७२, नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ६१ लाख ९५ हजार ५८३ र नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड ४६ लाख ७२ हजार ६९३ बराबरको कारोबार भई शीर्ष ५ भित्र परेका छन् ।
पाँच कम्पनीको मूल्यमा सर्किट
नेप्सेका अनुसार विभिन्न पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसमा एसियन लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक र सानिमा लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।
यस्तै इमर्जिङ नेपाल र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९९ प्रतिशत कमाएका छन् ।
उता मेगा म्युचुअल फन्ड एक २.९३, प्राइम बैंकको ऋणपत्र १.९९, कुमारी इक्विटी फन्ड १.५९, नबिल ऋणपत्र १.४९ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले १.०७ प्रतिशत गुमाएका छन् ।









