काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ अनमोल जीवन जीवन बीमा योजना सार्वजनिक गरेको छ ।कम्पनीले समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताको सुझाव अनुरुप नयाँ नयाँ जीवन बीमा योजना ल्याउने क्रममा नेपाल लाइफ अनमोल जीवन जीवन बीमा योजना प्रस्तुत गरेको जनाएको छ । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बीमा भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

मानव जीवन अनमोल हुँदा हुँदै पनि आजको समयमा प्रत्येक व्यक्तिको अनमोल जीवनका हर पलहरु जोखिम नै जोखिमले भरिएको र यस्तो जोखिम मानिस बाचुन्जेल चलिनै रहने हुँदा अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनीकरण गर्न कम्पनीले सावधिक र आजीवनको विशेषता भएको नेपाल लाइफ अनमोल जीवन जीवन बीमा योजना ल्याएको जनाएको छ ।

‘बीमा अवधि समाप्तिपछि पनि जोखिम बहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम बहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो जीवन बीमा योजनाको अर्को विशेषता हो,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ।

यसका प्रमुख विशेषताहरुमा १८ वर्षदेखि ६५ वर्षसम्म उमेर समुहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्र्षसम्म अवधिको यो बीमा योजना लिन सक्ने, बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष, न्यूनतम २५ हजारदेखि आयस्रोतको आधारमा जति पनि बीमांक रकमको बीमा गर्न सकिने बताइएको छ ।

बीमा शुल्क भुक्तानी तरिका छनोटको छुट वा थप शुल्क लाग्ने कम्पनीले जनाएको छ । बीमालेख जारी गर्ने समयमा वार्षिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा १ प्रतिशत छुट प्राप्त हुनेछ । तर अर्धवार्षिक छनोट गर्दा छुट प्राप्त नहुने बताइएको छ । त्यसैगरी बीमालेख जारी गर्ने समयमा त्रैमासिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा ३ प्रतिशत थप लाग्नेछ भने मासिक छनोट गर्दा ६ प्रतिशत लाग्ने कम्पनीले जनाएको छ ।

ऋण तथा समर्पण सुविधा अन्तर्गत वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपछि समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

बीमालेखको बीमा अवधि समाप्तिपश्चात पनि जोखिम बहन गरी रहने तर बीमितले चाहेमा, पूर्ण अवधि भुक्तानी भएको ५ वर्ष पूरा भैसकेपछि जुनसुकै समयमा समर्पण गर्न सकिने बताइएको छ । यसको साथै बीमितले इच्छाइए अनुसार अग्रिम भुक्तानीको रुपमा उल्लेख भए अनुसार समेत भुक्तानी लिन सक्नेछ । । यसको लागि बीमितले बीमा सुरु गर्दाको समयमा नै कुन तरिकाको सर्भाइभल बेनिफिट लिने भनी उल्लेख गर्नुपर्ने हुन्छ ।

बीमालेखको बीमा अवधि समाप्तिपश्चातको समर्पण गणना गर्दा सुरुमा नै उल्लेख गरेको सर्भाइभल बेनिफिट लिने तरिकालाई आधार मानी समर्पण मूल्य गणना गरिने तर यस्तो समर्पण रकममा कर्जा प्राप्त नहुने कम्पनीले प्रस्ट पारेको छ ।

बीमा अवधि समाप्ति पश्चातको समर्पण तथा सर्भाइभल बेनिफिल सुविधा लिन म्याचुरिटीसम्मको सम्पूर्ण किस्ता समयमा नै भुक्तानी गरेको हुनुपर्ने छ ।

ऐच्छिक सुविधामा दुर्घटना मृत्यु लाभ सुविधा रहेको र यस अन्तर्गत १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम एक करोडसम्मको दुर्घटना मृत्यु लाभ सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।

बीमाशुल्क छुट तथा पूर्ण अशक्तता लाभ सुविधा अन्तर्गत १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम एक करोडसम्मको बीमाशुल्क छुट तथा पूर्ण अशक्तता लाभ सुविधा लिन सक्नेछ ।

घातक रोग सुविधा अन्तर्गत १८ वर्ष देखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम ५० लाखसम्मको घातक रोग सुविधा लिन सक्नेछ ।

पूर्ण अवधि भुक्तानी बीमालेख चालु रही बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तिको अन्त्यमा बीमांक रकम र आर्जित बोनस एकमुष्ठ भुक्तानी हुनेछ ।

आंशिक अवधि भुक्तानीको हकमा सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि समाप्तिपश्चात बीमित जीवित रहिरहेमा तल उल्लेख गरे अनुसारको प्रतिशतमा बीमितले छनोट गरे बमोजिमको बीमांक रकम पुनः प्रदान गरिने कम्पनीको भनाइ छ । जसको लागि बीमा सुरु गर्दाको समयमा नै बीमा अवधि समाप्तिपश्चात कुन तरिकाको बीमांक लिने हो सो उल्लेख गर्नुपर्ने हुन्छ ।

पहिलो बीमितको उमेर ७५ वर्ष पुगेपछि बीमांक रकमको ६० प्रतिशत भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने विकल्प छ भने दोस्रोमा बीमितको उमेर ८० वर्ष पुगेपछि बीमांक रकमको ८० प्रतिशत भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने विकल्प छ । तेस्रो विकल्पमा बीमितको उमेर ८५ वर्ष पुगेपछि बीमांक रकमको १०० प्रतिशत भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने कम्पनीको भनाइ छ ।

यदि बीमाशुल्क भुक्तानी अवधि समाप्तिपछि बीमितले आफूले उल्लेख गरेको आंशिक अवधि भुक्तानी उपभोग गर्नुअगावै बीमितको मृत्यु भएमा पुनः पूरा बीमांक रकम प्रदान गरिने छ ।

मृत्यु दाबी भुक्तानीमा बीमालेख चालु रही बीमा अवधि समाप्तिभित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमांक रकम + आर्जित बोनस एकमुष्ट भुक्तानी दिइने छ ।

सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि समाप्तिपश्चातको सुविधा उपभोगको लागि छनोट गरेको उमेरभित्र जीवित लाभ रकम लिनुभन्दा अगाडि जुनसुकै समयमा बीमितको मृत्यु भएमा पूनः बीमांक बराबरको रकम प्रदान गरिने छ ।

बीमा अवधि समाप्तिपश्चात कुनै पनि घटना घटेमा ऐच्छिक सुविधा बापतको रकमको दाबी भुक्तानी नदिइने कम्पनीले जनाएको छ ।

यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको अवस्थामा चालु बीमालेख अन्तर्गत बीमा अवधि समाप्तिभित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमांक रकम प्लस दुर्घटना मृत्यु लाभ सुविधा वापतको बीमांक रकम प्लस आर्जित बोनस रकम एकमुष्ट भुक्तानी दिइनेछ ।

यदि दुर्घटना मृत्यु लाभ तथा पूर्ण अशक्तता लाभ सुविधालिएको बीमालेख चालु रही बीमा अवधि भुक्तानीभित्र बीमितको दुर्घटनाको कारणबाट अंगभंग भई पूर्ण अशक्तता भएमा बाँकी बीमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै पूर्ण अशक्तता सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपांग अशक्त बीमितलाई भुक्तानी गरिनेछ ।

सबै किस्ता बीमाशुल्क भुक्तानी नगरेको बीमालेख समाप्त भएमा बीमा अवधि समाप्तिपश्चातको थप सुविधा तथा सो अवधिमा कुनै घटना घटेमा घटना बापतको रकम प्रदान नगरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय