काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सक्नेछन् ।
बैंकले आफ्ना मुद्दती निक्षेपकर्तालाई लक्षित गरी उनीहरुको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको छ ।
यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताले ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस वा वेबसाइट ग्लोबलअनलाइन डट जिआइबिएल डट कम डट एनपीमार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन् ।
सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुने र यसमा कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सकिने बताइएको छ ।









