काठमाडौं– गम्भीर आर्थिक संकटमा परेको श्रीलंकाले कागजसमेत किन्न नसकेर विद्यालय स्तरको परीक्षासमेत स्थगित गरेको समाचार आएको छ ।
सोमबारबाट सुरु हुने भनिएको विद्यालयको परीक्षा कागज अभावका कारण अनिश्चितकालका लागि स्थगित गरिएको श्रीलंकाली अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले लेखेका छन् ।
श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएयताको खराब वित्तीय संकटबाट गुज्रिरहेको छ । विदेशबाट सामान आयात गर्न विदेशी मुद्राको अभाव छ ।
श्रीलंकाको पश्चिमी प्रान्तको शिक्षा विभागले भनेको छ, ‘कागज अभावका कारण टेस्ट परीक्षा लिन कठिन भएको छ । किनभने कागज र मसी आयात गर्ने विदेशी मुद्रा छैन ।’
विदेशी मुद्रा अभावका कारण श्रीलंकाको ऊर्जा क्षेत्रसमेत गम्भीर रुपमा प्रभावित भएको छ । श्रीलंकावासीले लामो समयसम्म लोडसेडिङ बेहोर्दै आएका छन् । औषधि, दूध, चिनी, दाल, चामल, तेल र अन्य खाद्य वस्तु खरिदका लागि पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ । इन्धन किन्नेहरुको पनि पेट्रोल पम्पहरुमा लामो लाइन देखिन्छ ।
पेट्रोल किन्ने लाममा बस्दा बस्दै बेहोस भएर सोमबार व्यक्तिको ज्यान गएको समाचार डेली मिररले दिएको छ । आइतबार पनि एकजनाको इन्धन लिने लाममा बस्दा बस्दै बेहोस भएर निधन भएको थियो ।
श्रीलंकामाथि यसै वर्ष करिब ७ अर्ब अमेरिकी डलर ऋण तिर्नुपर्ने दायित्व छ । तर फेब्रुअरीको अन्त्यसम्म विदेशी मुद्रा भण्डार २.३ अर्ब डलर मात्र रहेको समाचार सार्वजनिक भएको थियो । रुस–युक्रेन युद्धका कारण विश्व बजारमा बढेको महँगीले पनि श्रीलंका थप समस्यामा परेको छ ।
संकट गहिरिँदै गएपछि श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग आर्थिक सहयोग मागेको थियो । आइएमएफले श्रीलंकाका राष्ट्रपति गोताभाया राजापाक्षले मागेको आर्थिक सहयोगमा विचार गरिरहेको जनाएको छ ।
श्रीलंकाले मुख्य सहयोगी राष्ट्र चीनसँग पनि आर्थिक सहयोग मागेको समाचार सार्वजनिक भएको थियो । आर्थिक संकटमा फसेको श्रीलंकालाई भारतले १ अर्ब डलर ऋण दिने घोषणा गरेको छ ।









