काठमाडौं– गत फागुनसम्ममा नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा साढे ११ खर्ब नाघेको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म अन्तर्राष्ट्रिय व्यापार घाटा ११ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ ।

यसपालिको व्यापार घाटा पोहोरको सोही अवधिको तुलनामा ३४.५० प्रतिशतले बढी हो । पोहोर साउनदेखि फागुनसम्ममा व्यापार घाटा ८ खर्ब ६३ अर्ब रुपैयाँ थियो ।

यो ८ महिनाको अवधिमा १३ खर्ब ८ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । यो पोहोरको तुलनामा ३८.६८ प्रतिशतले आयात बढी हो । पोहोर उक्त अवधिमा ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।

चालु आर्थिक वर्षको फागुनसम्मको कुल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ । यो पोहोरको तुलनामा ४२.१३ प्रतिशतले बढी हो । यो अवधिमा १ खर्ब ४७ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ ।

आयात बढ्दै गएर विदेशी विनिमय सञ्चिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको छ । कतिपय वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाएको छ भने कतिपयको आयात गर्न एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था सरकारले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय