काठमाडौं– पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको छ ।
सो प्रणालीको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अन्य भू–भागमा सामान्यतया सफा रहने भएको छ ।
राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न र पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जन, चट्याङको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.६ डिग्री र अधिकतम तापक्रम २९.३ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ४.१ डिग्री र सबैभन्दा धेरै नेपालगन्जको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस छ ।









