काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ नहुने जनाएको छ । प्राधिकरणले अहिले भर्खरै पत्रकार सम्मेलन गरेर आफूले तिर्न तयार भएको मूल्यमा भारतबाट बिजुली किन्न नपाउँदा हिजो र अस्ती दुई दिन उद्योगहरुमा विद्युत् आपूर्ति रोक्नु परेको भन्दै दीर्घकालसम्म लोडसेडिङ नहुने बताएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई दिन आपूर्ति रोकिँदा लोडसेडिङ सुरु भएको हिसाबले सञ्चारमाध्यमबाट सन्देश प्रवाह भएपछि स्पष्ट पार्न पत्रकार सम्मेलन गरेको बताए ।
उनका अनुसार भारतमा कोइला अभावले गर्दा विद्युत् उत्पादन घटेर मूल्य बढेको र प्राधिकरणले किन्न चाहेको मूल्यमा नपाएकाले दुई दिन विद्युत् आपूर्ति घटाउनु परेको हो । भारतमा सेयर बजारमा जस्तै पावर एक्सचेन्ज मार्केटमार्फत विद्युत् खरिदबिक्री हुन्छ । जसले गर्दा मूल्य एकै दिनमा पनि धेरैपटक घटबढ हुन सक्छ । सोही आधारमा अनुमान गरेर मूल्य प्रस्ताव गर्दा प्राधिकरणले प्रस्ताव गरेको मूल्यमा बिजुली नपाउँदा आयात गर्न नपाएर लोडसेडिङ गर्नुपरेको घिसिङले बताए ।
यसलाई उनले अचानक आएको संकटको रुपमा चित्रण गरे । भूकम्प, बाढीपहिरो जस्ता विपत्तिले विद्युत् संरचना भत्काउँदाको बेला जसरी आपूर्ति रोकिन्छ, अहिलेको स्थितिलाई सोही अनुरुप हेर्नुपर्ने उनले सुनाए ।
१४ लाख मेगावाट माग र २० लाख जडित उत्पादन क्षमता भएको चीनमा पनि कोइला अभावकै कारण केही अघि एक महिनासम्म विद्युत् आपूर्ति रोकिएर सम्पूर्ण उद्योग बन्द गर्नुपरेको सुनाउँदै उनले नेपालमा त्यो स्थिति पनि आउन नदिने बताए ।
घिसिङका अनुसार १ रुपैयाँ ९० पैसा भारुसम्मका किनेको बिजुलीको भाउ अहिले भारतीय बजारमा २० रुपैयाँ भारुसम्म पुगको छ । उनका अनुसार प्राधिकरणले बुधबार रातिका लागि १२ रुपैयाँ भारुमा बिजुली किन्न खोज्दा पनि मागको आधा मात्रै पाएकाले लोडसेडिङ भएको बताए ।
भारतीय बिजुलीलाई चर्को मूल्य तिर्नुपर्ने अवस्था एक महिना जति लम्बिन सक्ने भन्दै साना र घरेलुलाई, ठूला उद्योग कसैलाई बिजुली आपूर्ति नरोक्ने बताए । जेठपछि उत्पादन स्वदेशमै उत्पादन बढ्ने भएकाले अभावको समस्या एक–डेढ महिनाभन्दा नलम्बिने बताए ।
भारतबाट महँगोमा बिजुली ल्याए पनि उपभोक्तालाई साबिककै मूल्यमा उपलब्ध गराउने प्राधिकरणको भनाइ छ । प्राधिकरणले आफूले घाटा सहेर भए पनि उपभोक्तामाथि व्ययभार नथप्ने जनाएको छ ।









