काठमाडौं– अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक वर्ष ०७९–८० को बजेट निर्माणका लागि उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका अध्यक्ष तथा प्रतिनिधिलाई बोलाएर सुझाव लिएका छन् ।

मन्त्रालयको आग्रहमा बिहीबार दिउँसो महासंघ अध्यक्ष शेखर गाोल्छा र उपाध्यक्ष रामचन्द्र संघई, उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवाल र उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल अर्थ मन्त्रालय पुगेर मन्त्री शर्मासँग छलफल गरेको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सो छलफलमा मन्त्री शर्माले निजी क्षेत्रलाई बिश्वासमा लिएर सरकार आफ्नो जिम्मेवारी पूरा गर्ने दिशामा अघि बढिरहेको बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेर बजेट निर्माण थालेको र यो सरकारलाई जनताको नजरमा अहिलेसम्मकै सफल बनाउने गरी बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए । ‘मैले बजेट निर्माण थाल्नुअघि सम्माननीय प्रधानमन्त्रीज्यूसँग छलफल गरेको थिएँ । त्यसक्रममा तपाईं (प्रधानमन्त्री) को नेतृत्व लिएर बजेट बनाउने हो । यो सरकारलाई अहिलेसम्मकै सफल र जनताको नजरमाा लोकप्रिय हुने हिसाबले बजेट बन्छ, कुनै चिन्ता लिनु पर्दैन भनेको छु । उहाँले पनि ठीक छ, तपाई अघि बढ्नुस् भनेपछि बजेट निर्माण प्रकृया शुरु गरिएको हो,’ उनले भने ।

बजेटमा व्यवसायीको मात्र नभई दुरदराजका सर्वसाधारणको पनि कुरा सुनिने उनले बताए । ‘अहिले तपाईंहरु (निजी क्षेत्र) सँग सुझाव लिएको छु । केही दिनमै कर्णालीदेखि झापासम्मका नागरिकको पनि सुझाव लिन्छौं र यसपटकको बजेट सबैलाई अपनत्व हुने गरी सार्वजनिक गर्छौं,’ मन्त्री शर्माले भने ।

शोधानान्तर घाटा, तरलता अभाव र रेमिट्यान्समा भएको कमीलाई सरकारले नियमन गर्न खोजेपनि बाह्य कारणाले गर्दा अप्ठेरो परेको उनले बताए । उनले राजनीतिज्ञ, कर्मचारी, व्यवसायी र आम उपभोक्ताले देशको हित सोच्दा आफ्नो स्वार्थको कुरा हेर्न नहुने बताए । साथै, व्यवसायीको समस्या अर्थ मन्त्रालयले हल गर्ने बताउँदै जुनसुकै समस्या लिएर आउन पनि उनले आग्रह गरे ।

‘निजी क्षेत्रको समस्याको संरक्षकत्व गर्ने ठाउँ यही हो । योभन्दा अरु ठाउँ नै छैन,’ उनले भने, ‘त्यसैले आफ्नो स्वार्थलाई अलि पर राखेर देशलाई फाइदा हुने कुरा लिएर आउन म आग्रह गर्छु ।’ उनले अर्थतन्त्र र व्यावसायिक क्षेत्रका बारेमा चिन्ता प्रकट गर्नु सकारात्मक भएको भन्दै यसमा राजनीतिक स्वार्थ भने नराख्न सुझाव दिए ।

‘बिनास्वार्थ देशको अर्थतन्त्रलाई माथी उठाउन म तयार छु । तपाईंहरु पनि तयार भएर आउनुस्,’ उनले भने । छलफलमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुझाव पेस गरेका थिए । उनले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या सरकारको क्षमताभन्दा बाहिरको बिषय भएकाले नियन्त्रण गर्न कठिनाइ भएको बताए ।

‘अहिले हामी जुन समस्याबाट गुज्रिरहेका छौं । यो नियन्त्रण गर्ने कुरा भनेको सरकारको क्षमतता भन्दा बाहिर छ । त्यसैले निजी क्षेत्रको मनोबल पनि धेरै खस्केको छ,’ उनले भने । त्यस्तै उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेर बजेट निर्माण हुनुपर्ने सुझाव दिए । उनले ऊर्जामा निजी क्षेत्रको ५० प्रतिशत योगदान रहेको भन्दै पिपिए रोक्ने काम ठीक नभएको धारणा राखे ।

कार्यक्रममा चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्न सुझाव दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय