काठमाडौं– भारतका लागि नवनियुक्त नेपाली राजदूत डा शंकरप्रसाद शर्माले लघु, घरेलु तथा साना उद्योगले उत्पादन गरेका वस्तुको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुलाई भारतमा प्रवर्द्धन गर्ने उनले बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा आफूले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुको बजारीकरणमा सघाउने उनले बताए ।

लगानी र निर्यात अभिवृद्धिका क्षेत्र पहिचान गरेर सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्न सक्ने भन्दै उनले दुई देशका निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी लगानीमा सहजीकरण गराउनेतर्फ आफूले पहल गर्ने बताए ।

नेपालसँग भारतको र भारतसँग नेपालको सम्बन्ध एकदमै प्रगाढ रहेको भन्दै उनले थपे, ‘चाहे व्यापारको कुरा गरौ, आयात निर्यातकै पनि कुरा गरौं । झण्डै कुल व्यापारमा दुई तिहाई भारतमै हुने गरेको छ । निर्यातमा पनि सोयाबिन तेल, पाम तेलले गर्दा झण्डै ७५ प्रतिशत भारतमा हुने गरेको छ ।’

महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले अन्तर्राष्ट्रियस्तरमा नेपालको इकोनोमिक डिप्लोमेसी भनेको अहिलेसम्म दूतावासको भित्तामा नेपाली वस्तुमा टुंगिने गरेको पाइएको र भारतमा पनि त्यस्तै पाइएको बताए ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले सरकारको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उत्पादनमूलक उद्यम व्यवसायको प्रवर्द्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन गर्न आवश्यक भएकोमा जोड दिए ।

यस्ता उत्पादनको निर्यात प्रवर्द्धनका लागि राजदूत शर्माले आफ्नो कार्यक्षेत्रमा आर्थिक कूटनीतिको भूमिका खेल्ने अपेक्षा उनले गरे ।

कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरु वासु गिरी, सुरेश प्रधान, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, महासंघ अन्तर्गत महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्याय लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय