काठमाडौं– मुलुकमा एक दशकदेखि जारी लोडसेडिङ हटाएर वाहवाही कमाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पछिल्लोपटक आफूले सार्वजनिक रुपमै व्यक्त गरेको प्रतिबद्धतामा दुई दिन मै चुकेका छन् ।
उनले अघिल्लो साता पत्रकार सम्मेलन गरी भारतमा एक्कासि मूल्य बढ्दा प्राधिकरणले प्रस्ताव गरेको मूल्यमा बिजुली आयात गर्न नसकेर औद्योगिक क्षेत्रमा बिजुली काट्नु परेको र अब आइन्दा महँगोमै भए पनि ल्याएर आपूर्ति गर्ने विश्वास दिलाएका थिए ।
तर त्यसको दुई दिन नबित्दै औद्योगिक क्षेत्रमा १४ घन्टासम्म लोडसेडिङ हुन थालेको पूर्वका व्यवसायीले गुनासो गरेका छन् ।
प्रदेश १ नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले मंगलबार एक विज्ञप्ति जारी गरी घिसिङको प्रतिबद्धता विपरीत औद्योगिक क्षेत्रमा गत हप्तादेखि १४ घन्टासम्म अघोषित रुपमा लोडसेडिङ हुन थालेको गुनासो गरेका हुन् ।
‘दुई वर्षदेखि कोभिड महामारीबाट थला परेका उद्योग, व्यवसाय क्षेत्र केही महिनायता भोग्नुपरेको वित्तीय संकट तथा बढ्दो ब्याजदरले मरणासन्न पुगेका छन्, यही बेला १४ घन्टासम्म गरिएको लोडसेडिङले उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको छ,’ ती संस्थाहरुले मंगलबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यो अवस्थामा सम्बन्धित निकाय गम्भीर भई तत्काल विद्युत् आपूर्ति सूचारु नगर्ने हो भने सम्पूर्ण उद्योगहरु बन्द गर्न बाध्य हुने र यसबाट सिर्जना हुने थप भयावह अवस्थातर्फ गम्भीर हुन सम्बन्धित पक्षलाई समयमै सचेत हुन आग्रह गर्दछौं ।’
पछिल्लो समय सरकार तथा प्राधिकरणका जिम्मेवार पदाधिकारीबाट उद्योग उद्योग मै पुगेर चाहिए जति बिजुली दिन्छौं भन्दै लगानी बढाउन प्रेरित गरिरहेका थिए । यही बेला एक्कासि मूल्य वृद्धिको बहानामा विद्युत् आयात गर्न सकिएन भनिनुलाई उनीहरुले स्वदेशी ऊर्जाको वास्तविक अवस्थाबारे आमजनतालाई गुमराहमा राखेको रुपमा लिएका छन् ।
‘राति ११ बजेर ५९ मिनेट जाँदासम्म विद्युत् निर्यात गर्ने अवस्था रहेकोमा १२ बजेपछि एक्कासि युटर्न भई विद्युत् संकटको अवस्था सिर्जना भएको जनाई आपूर्ति बन्द गरिनु जस्तो गैरजिम्मेवारी विषयमा हामीले सरकारको जवाफदेहिता खोजेका छौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
गत हप्ता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुनसुकै मूल्यमा भए पनि उद्योग, व्यवसाय क्षेत्रलाई विद्युत् उपलब्ध गराउने, लोडसेडिङ नगर्ने आवश्वासन दिएका थिए । उनले भारतमा चरम ऊर्जा संकट उत्पनन भई अप्रत्यासित मूल्य वृद्धि हुँदा नेपालले प्रस्ताव गरेको मूल्य बिजुली नपाएर ल्याउन नसक्दा आपूर्ति कटौती गर्नुपरेको तर्क गरेका घिसिङले प्राधिकरणले जुनसुकै मूल्यमा किनेर भए पनि औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यसको दुई दिनमै १२ घन्टा विद्युत् कटौती गर्न थालिएको भन्दै उनीहरुले यसबाट जिम्मेवार पदाधिकारीको विश्वनीयतामै प्रश्न खडा भएको बताए ।
अहिलेको अवस्थामा उद्योग, व्यवसाय ठप्प हुँदा मुलुकले राष्ट्रले बेहोर्नुपर्ने क्षतिलाई मध्यनजर गर्दै हाल देखिएको ऊर्जा संकट अविलम्ब समाधान गरी उद्योगहरुमा निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गर्न विज्ञप्तिमार्फत माग गरिएको छ
विज्ञप्तिमा प्रदेश १ नेपाल उद्योग परिसंघका अध्यक्ष, भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले हस्ताक्षर गरेका छन् ।









