काठमाडौं– गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरले ठक्कर दिएर दुई स्कुले बालिकाको ज्यान लिएको छ । उनीहरु दिदी बहिनी हुन् ।
स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको बुधबार बिहान ८ः३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो ।
घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएको र दुई छोरीको घटनास्थलमै निधन भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको भनाइ छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।









