काठमाडौं– नगर विकास कोषको सहरी पूर्वाधार विकास आयोजना अन्तर्गत हालसम्मकै ठूलो आयोजना ६१ करोड रुपैयाँ अनुमानित लागतको ‘दमक सपिङ कम्प्लेक्स’मा कोषको ४२ करोड रुपैयाँ ऋण प्रवाहका लागि सम्झौता सम्पन्न भएको छ ।

नगरपालिकाका सहरी पूर्वाधार आयोजनामा बढीभन्दा बढी वित्तीय तथा प्राविधिक सहायता प्रदान गरी व्यवस्थित र सुविधासम्पन्न सहर निर्माण तथा विकासमा योगदान गर्ने कोषको उद्देश्य अनुरुप दमक नगरपालिकाका नगरवासीलाई व्यवस्थित, सुरक्षित तथा आधुनिक प्रविधियुक्त सेवा सुविधा उपलब्ध गराउन लक्ष्य अनुसार दमक नगरपालिकाबाट निर्माण हुन लागेको हो ।

‘दमक सपिङ कम्प्लेक्स’ आयोजना निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता सम्पन्न भएको छ । सहरी पूर्वाधार निर्माणमा कोषको हालसम्मकै ठूलो लागतको आयोजनाको लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीबीच ४२ करोड ८० लाख रुपैयाँ रकमको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

दमक सपिङ कम्प्लेक्स आयोजना निर्माणको कुल अनुमानित लागत रकम ६१ करोड १४ लाख ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट बेहोरिने बताइएको छ । सम्झौता कार्यक्रममा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाको पनि उपस्थिति रहेको थियो ।
दमक नगरपालिकाको करिब आठ कट्ठा १३ धुर क्षेत्रफलमा निर्माण हुने यो आयोजनालाई नगरपालिकाको महत्वपूर्ण आयोजनाको रुपमा लिइएको छ ।

सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुखबाट यो आयोजना प्राविधिक दृष्टिकोणबाट बृहत् अध्ययनपश्चात निर्माण हुन गइरहेकोले आयोजना गुणस्तरीय रुपमा आधुनिक प्रविधियुक्त आयोजनाको रुपमा सम्पन्न हुने कुरामा विश्वस्त रहेको जनाउँदै आयोजना समयमै सपन्न हुने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाको लागि महत्त्वपूर्ण आयोजनाको लागि नगर विकास कोषको ऋणस्वरुप स्रोतको सुनिश्चितता भएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशकले आधुनिक सेवा सुविधा, सुरक्षा तथा प्रविधिको हरेक पक्षलाई समेटर तयार भएको यो आयोजना नगरपालिकाको आइकनिक आयोजनाको रुपमा स्थापित हुने र यसले स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यकारी निर्देशक सापकोटाले आधुनिक सहरी सेवा सुविधा विस्तारका लागि आयोजना अगाडि बढाउन नगरपालिकाको वर्तमान नेतृत्वको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै नगरपालिकाको सहरी पूर्वाधार विकासमा लगानी बढाउन पाएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय