काठमाडौं– युरोपका दुई मुलुकले ग्यास आपतकाल घोषणा गरेका छन् । रुसले आफ्नो मुलुकबाट युरोपेली मुलुकले किन्ने ग्यासको भुक्तानी युरो वा अमेरिकी डलरको सट्टा रुबलमा गर्नुपर्ने अडान लिएपछि जर्मनी र अस्ट्रियाले ग्यास अभाव हुन सक्ने भन्दै बुधबार पहिलो चरण (स्टेज वान) को आपतकाल घोषणा गरेका हुन् ।
मस्कोले युक्रेनमाथि सैन्य कारवाही गरेको बदलामा अमेरिका र युरोपेली मुलुकले रसियामाथि थुप्रै प्रतिबन्ध लगाएका छन् । त्यसको बदलामा रुसले युरोपेली मुलुकले किन्ने प्राकृतिक ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने अडान राखेको छ ।
पहिलो चरणको आपतकालको अर्थ निकट भविष्यमै ग्यास आपूर्ति घट्न सक्ने प्रस्ट संकेत छ भन्ने हुन्छ । अस्ट्रियाको जलवायु मन्त्रालयले ग्यास आपूर्ति घट्न सक्ने ठोस तथा विश्वासयोग्य संकेत देखिएको र आफूले परिस्थितिलाई सूक्ष्म रुपमा नियाल्ने जनाएको छ ।
अस्ट्रियाको ग्यास भण्डारमा कूल क्षमताको १३ प्रतिशत मात्र ग्यास बाँकी छ । ‘अस्ट्रिया घरेलु प्रयोगकर्ता र व्यवसायका लागि ग्यास आपूर्ति सुनिश्चित गर्न हरप्रयास गरिनेछ,’ चान्सलर कार्ल नेहाम्मरले भनेका छन । आपूर्तिमा अवरोध आएको खण्डमा व्यवसायीलाई विकल्प खोज्न प्रोत्साहन गरिने पनि उनले बताए । तर सतर्कताको अवस्था तेस्रो चरणमा नपुग्दासम्म आपूर्ति सीमित नगरिने सरकारले प्रस्ट पारेको छ ।
यसअघि जर्मनीले पनि पहिलो चरणको आपतकाल घोषणा गरेको थियो । उसले पनि ग्यास आपूर्ति रोकिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सतर्कता घोषणा गरेको हो । रसियाले वैरी मुलुकहरुलाई रुबल भुक्तानी गरे मात्र ग्यास आपूर्ति गर्ने भनी तोकेको समय नजिकिँदै गर्दा यी मुलुकहरुले आपतकाल घोषणा गरेका हुन् ।
युक्रेनमाथिको सैन्य कारबाहीलाई लिएर रुसमाथि व्यापार प्रतिबन्ध लगाउने मुलुकहरुलाई मस्कोले वैरीको सूचीमा राखेको छ ।
रसियाले आफूले वैरी मुलुकमा निर्यात गरेको ग्यासको पैसा रुबलमा भुक्तानी गर्नुपर्ने जनाएको छ । युरोपेली युनियनका नेताहरुले भने रुबलमै भुक्तानी गर्नुपर्ने रसियाको अडान सम्झौताविपरीत भएको बताएका छन् ।
जर्मनीका औद्योगिक संगठनहरुले ग्यास आपूर्तिमा हुने कमीले युरोपको औद्योगिक उत्पादन शृंखलामा तीव्र गिरावट आउने र त्यसको असर विश्वभर पर्ने चेतावनी दिएका छन् ।
रुसको राष्ट्रपतीय आदेशमा ३१ मार्चपछि रुबलमा भुक्तानी गर्नुपर्ने गरी समय उल्लेख भए पनि गृहकार्य बाँकी रहेकोले त्यो समय केही पछि सर्ने अधिकारीहरुले बताएका छन् । रुस–युक्रेन युद्धका कारण विश्वभर इन्धनको मूल्य अकासिएको छ ।









