काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९–८० को बजेटसम्बन्धी सुझाव संकलन गर्न टोल फ्री नम्बर ११३८ सञ्चालनमा ल्याएको छ ।

आगामी आबको बजेट निर्माणमा जुटेको मन्त्रालयले विषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधि बाहेक दूरदराजका सर्वसाधारणको सुझाव संकलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्री नम्बर ११३८ सञ्चालनमा ल्याएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रालयका अनुसार कार्यालय समयमा फोन गरी सर्वसाधारणले आफूलाई लागेको सुझाव टिपाउन सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन’मा क्लिक गरेर पनि सुझाव पेस गर्न सक्ने व्यवस्था गरिएको छ । इमेल budgetsuggestion@mof.gov.np  मार्फत सुझाव पेस गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन उद्योगी, व्यवसायी, वुद्धिजीवी, राजनीतिज्ञ, समाजसेवी, पेसाकर्मी, सञ्चारकर्मी, आम नागरिक एवं सरोकार राख्ने सबैको सुझाव महत्त्वपूर्ण हुने भएकाले बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक विषयवस्तुहरु चैत मसान्तभित्र लिखित वा मौखिक (टेलिफोन) रुपमा उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले अहिले कृषि, शिक्षा, बैंक, वित्तीय संस्था तथा बिमा क्षेत्र, निजी क्षेत्र, अर्थविद् लगायतसँग नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिसकेको छ । मन्त्रालयले हप्तामा दुईवटासम्म छलफल आयोजना गरी विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला क्षेत्रका प्रतिनिधिबाट बजेटबारे सुझाव संकलन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय