कोलोम्बो– श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले पनि सोमबार पदबाट राजीनामा दिएका छन् । गभर्नर अजिथ काब्रालले मुलुकको आर्थिक संकट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै राजीनामा दिएका हुन् ।

उनले राष्ट्रपति गोताबाय राजापाक्षसमक्ष राजीनामा दिएको बताएका छन् । आइतबार श्रीलंकाली मन्त्रीमण्डलका सबै सदस्यले राजीनामा दिएका थिए । देशमा आर्थिक संकटसँगै राजनीतिक संकट गहिरिँदै गएपछि जिम्मेवार पदाधिकारीहरूले धमाधम राजीनामा दिन थालेका छन् ।

जिम्मेवार पदाधिकारीहरूले नै धमाधम राजीनामा दिन थालेपछि राष्ट्रपति गोतावाय र प्रधानमन्त्री महेन्दा राजापाक्ष थप संकटमा परेका छन् । आर्थिक संकटका कारण मर्कामा परेपछि असन्तुष्ट नागरिकले सरकारका विरुद्धमा प्रदर्शन गर्न थालेपछि राजनीतिक संकट सुरु भएको हो ।

आन्दोलनकारीले राष्ट्रपति राजापाक्षको निवास घेर्न थालेपछि सरकारले शनिबार बेलुका ६ बजेदेखि ३६ घन्टे कर्फ्यू आदेश जारी गरेको छ । आर्थिक संकटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरूविरुद्ध सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आन्दोलित भएपछि सरकारले श्रीलंकामा देशव्यापी सुरक्षाका लागि भन्दै संकटकालको घोषणा गरेको छ ।

चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा हिंसात्मक गतिविधिहरू बढ्न थालेकोले संकटकालको घोषणा गर्नुपरेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरूको मर्मतका लागि भन्दै आपतकालीन अवस्थाको घोषणा गरिएको सरकारले जनाएको छ ।

सरकारको विरोधमा प्रदर्शन गर्नेहरूलाई नियन्त्रणमा लिएर हिरासतमा राख्न पनि सरकारले आदेश जारी गरेको छ । आर्थिक मन्दीसँगै अत्यधिक मूल्यवृद्धि र विद्युत् आपूर्तिसमेत बन्द हुँदा सर्वसाधारण थप मारमा परेकाले उनीहरु आन्दोलित भएका हुन् ।

सन् १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको श्रीलंका पछिल्लो समय चरम आर्थिक संकटका कारण अत्यावश्यक वस्तुको समेत आपूर्ति गर्न नसक्दा आम सर्वसाधारण मर्कामा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय