काठमाडौं– राजधानी भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुंगा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढेको छ । सो सडक विस्तारको ठेक्का सम्झौता वैशाख १५ सम्ममा गर्ने गरी तयारी भएको छ ।

सो सडकमा तीन प्याकेजमा काम हुनेछ । तीन प्याकेजमध्ये अहिले नागढुंगा–नौबिसे र नौबिसे–मलेखु सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको नागढुंगा–नौबिसे सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए । यससँगै अहिले परामर्शदाताको पनि छनोट गर्ने प्रक्रिया अघि बढाइएको छ । नागढुंगा–नौबिसे सडकको लम्बाइ १२ किमी र नौबिसे–मलेखु साढे ४३ किलोमिटर हो । उनले भने, ‘दुवै सडकको निर्माण सँगसँगै अघि बढाइनेछ ।’

नागढुंगाबाट–नौबिसे र नौबिसे–मलेखु दुई प्याकेजका लागि हाल ठेक्का प्रक्रिया सुरु भएको छ । यसका लागि नेपाली र अन्तरराष्ट्रिय दुवै निर्माण कम्पनीले आवेदन हालेका छन् । नागढुंगाबाट नौबिसे सडक दुई वर्षमा र नौबिसे मलेखु सडक तीन वर्षमा सम्पन्न गरिने प्रमुख कार्कीले बताए । तेस्रो ठेक्काका रुपमा रहेको मलेखुबाट मुग्लिनसम्मको पनि असारसम्ममा ठेक्का प्रक्रियामा जाने गरी तयारी भएको प्रमुख कार्कीले बताए । ठेक्कामा जान आवश्यक तयारी सकेर आयोजनाले कागजात विश्व बैंकलाई पठाएको थियो । ‘अहिले विश्व बैंकले त्यसमा अध्ययन गरिरहेको छ, सकिएपछि ठेक्कामा जान सकिन्छ,’ उनले भने ।

हाल प्रक्रियामा रहेका दुई ठेक्का वैशाख १५ सम्ममा प्रक्रियामा जान सक्ने प्रमुख कार्कीले बताए । ठेक्का सम्झौताअघि कसैको गुनासोका लागि आशयपत्र निकालिएको छ । त्यो नभएपछि सम्झौता गर्न सकिने उनले बताए । अबको केही समयमा नै वैदेशिक सहायता समन्वय महाशाखाले सम्झौता गर्ने उनले जानकारी दिए ।

सडकका अधिकांश स्थानमा तीन लेनमा निर्माण गरिने भए पनि बजार क्षेत्रमा चार लेन हुनेछ । विस्तार नै गर्न नसकिने ठाउँमा भने दुई लेन मात्रै पनि हुनसक्ने प्रमुख कार्कीले बताए ।

सडक विभागले यसअघि नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नारायणगढ–बुटवल सडक निर्माणाधीन छ । यी सडक चारदेखि ६ लेनसम्म विस्तार गरिएको भए पनि नागढुंगा–मुग्लिन सडक कम चौडाइमा निर्माण हुने योजनाले जनाएको छ । यो सडकमा विस्तारसँगै भइरहेका सडक र पुलको सुधार तथा मर्मतमा पनि ध्यान दिइने प्रमुख कार्कीले बताउनुभयो । बजार क्षेत्रमा चार लेनसम्म विस्तार हुने भए पनि पहाडी क्षेत्रमा दुई लेनमा नै निर्माण गरिनेछ । मलेखु, गजुरीलगायतका क्षेत्रमा चार लेनसम्म विस्तार हुनेछ ।

सडकमा निर्माणको काम गर्दा सवारी व्यवस्थापन चुनौतीपूर्ण रहेको आयोजनाले जनाएको छ । बैकल्पिक सडक नहुँदा सवारीसाधन अर्काेतर्फ मोड्न (डाइभर्ट) गर्न सकिने छैन । सवारी साधन एकातर्फीरुपमा सञ्चालन गरेर अर्का तर्फबाट निर्माणको काम गरिने प्रमुख कार्कीले बताए । सडक निर्माणका क्रममा सकेसम्म नागरिकलाई कम दुःख होस् भनेर ध्यान दिइने उनले बताए । उनले भने, ‘बुटवल–नारायणगढ सडक बनाउँदा नागरिकले दुःख पाएकाले यहाँ सकेसम्म व्यवस्थापन गर्न लागिनेछ ।’ सडक विस्तारका लागि वर्षामा पहाड खन्ने काम नगर्ने प्रमुख कार्कीले बताए ।

आयोजना सडक निर्माणका लागि जग्गा प्राप्तीको काममा विगत छ महिनादेखि लागेको छ । निर्माणस्थलमा केही घरटहरा रहेकामा तीनलाई क्षतिपूर्ति दिएर हटाउन लागिएको छ । बन कटानका लागि प्रक्रिया अघि बढाइएको छ र मन्त्रीपरिषद्बाट निर्णय आएपछि ठेक्का लागेपछि हटाइनेछ । उनले भने, ‘कटानको स्विकृति भएपछि ठेक्काबाट निर्माणस्थलमा रहेका रुख हटाइनेछ ।’

नागढुंगा चेकप्वाइन्टबाट शुरु भएर चितवानको मलेखुसम्मको सडकले काठमाडौं, धादिङ र चितवन गरी तीन जिल्लालाई समेट्छ । यो सडकमा विस्तारभन्दा पनि सुधारका काम बढी हुने विभागले बताउँदै आएको छ । सबैभन्दा बढी सवारीसाधन भित्रने र बाहिरिने नाका भएकाले सडक सुरक्षाका लागि आवश्यक कुराको निर्माणमा ध्यान दिइनेछ छ र मोड सुधार गर्ने, पुल थपिने लगायत काम गरिनेछ ।

यो खण्डमा अधिकांश स्थानमा सडकको चौडाइ झन्डै १० देखि ११ मिटरसम्म हुनेछ । ‘डेडिकेटेड’ दुई लेनमा चौडाइ सात मिटर हुनेछ भने त्यसमा दायाँबायाँ एकएक मिटर गरी दुई मिटरमा ‘सल्जर’ निर्माण हुनेछ । यसले गर्दा सडक सुरक्षित हुने, गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय