कोलोम्बो– श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले एकै दिनमै राजीनामा दिएका छन् । सोमबार बेलुका अर्थमन्त्री नियुक्त भएका अलि साब्रीले २४ घन्टा नहुँदै बुधबार बिहान राजीनामा दिएका हुन् ।
सोमबार उनीसँगै अरु तीन गरी चार मन्त्रीले सपथ ग्रहण गरेका थिए । तत्कालीन मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति गोताबाय राजापाक्षेले उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए ।
साब्रीले स्वतन्त्र व्यक्तिहरूको अन्तरिम सरकार बनाउनुपर्ने माग राख्दै राजीनामा दिएको प्राप्त समाचारमा उल्लेख छ । त्यसका लागि संसद् सदस्यलाई राजीनामा गराएर भए पनि जिम्मेवारी दिन सकिने उनको भनाइ छ ।
तर राष्ट्रपतिले अहिलेकै सरकार पुनर्गठन गर्न थालेपछि आफू त्यसमा सहमत नभएर राजीनामा दिएको साब्रीले स्पष्ट पारे । देशको अर्थतन्त्र चरम संकटमा पुगेपछि अभाव र समस्या सिर्जना भएको भन्दै आम नागरिक आन्दोलित भएका छन् । आन्दोलन दबाउन सरकारले संकटकालसँगै कर्फ्यू जारी गरेको थियो ।
आर्थिक संकटसँगै राजनीतिक संकट पनि गहिरिँदै गएपछि राजापाक्ष मन्त्रीमण्डलका सबै २६ सदस्य र केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका थिए ।
सरकारमा प्रधानमन्त्री मात्रै रहेपछि राष्ट्रपति राजापाक्षले सरकारमा सहभागी हुन अन्य दलका नेताहरूलाई आह्वान गर्नु भएको थियो । उनकै आह्वान अनुसार संकट समाधान गर्ने अठोटसहित मन्त्री बनेको व्यक्तिले पनि राजीनामा दिने क्रम सुरु भएको हो ।









