काठमाडौं– नेपाल आयल निगमले उसले कारोबार गर्ने सबै किसिमका पेट्रोलियम पदार्थको पुन मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको हो ।
पेट्रोल, डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । अब काठमाडौंको थानकोटबाट १५ किलोमिटरको दुरीभित्र पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलका लागि प्रतिलिटर १४३ रुपैयाँ तिर्नुपर्नेछ ।
खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएर १६ सय रुपैयाँ पुर्याएको निगमले जनाएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएर १५६ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५० अमेरिकी डलरले बढाएर प्रतिकिलोलिटर १४५० डलर पुर्याएको निगमले जनाएको छ ।









