काठमाडौं– पत्रकार ऋषि धमलाले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रयोग भएको विमानमा देखाएको असभ्य व्यवहारको वायुसेवा सञ्चालक संघले निन्दा गरेको छ ।
संघले बुधबार एक विज्ञप्ति प्रकाशित गरी धमलाको नाम उल्लेख नगरीकनै भिभिआइपी उडानमा देखाइएको असभ्य व्यवहारप्रति आपत्ति जनाएको हो ।
धमलाले प्रत्यक्ष प्रसारणका नाममा प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्कने क्रममा प्रयोग भएको उडानमा अमर्यादित व्यवहार देखाएका थिए । उनको व्यवहारले उडान सुरक्षामा गम्भीर असर पुग्ने भन्दै संघले निन्दा गरेको हो ।
‘प्रधानमन्त्री सहितको भिभिआइपी टोली सवार उक्त उडानमा मिडिया ग्रुपका व्यक्तिहरुबाट उडानका क्रममा अपनाउनुपर्ने नियमलाई समेत उल्लंघन गर्दै निषेधित कक्षमा क्यामरा सहित प्रवेश गरी अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण रहेको संघको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।
उक्त उडानमा यात्रुलाई अनावश्यक हैरानी हुने काम नगर्न चालक दलले पटकपटक सम्झाए पनि त्यसलाई बेवास्ता गर्दै धमलाले भिडियो खिचेका थिए ।
यसप्रकारको हर्कतले उडानका साथै भिभिआइपी सुरक्षा प्रोटोकलको समेत उल्लंघन भएको भन्दै यस्ता अवाञ्छित कार्य नगर्न संघले सम्झाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार उड्डयन कार्यालयको अनुमतिविना विमानस्थल क्षेत्रभित्र छायांकन गर्न पाइँदैन । त्यस्तो कार्य अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट प्रतिपादित सिद्धान्तको प्रतिकूल हुने पनि संघले जनाएको छ ।









