काठमाडौं– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले स्वदेशमै विद्युतीय (इलेक्ट्रिक) स्कुुटरको नमुना विकास गरेको छ । उक्त स्कुटर एकपटकको चार्जले ५० किलोमिटरसम्म गुड्छ ।

नेपालको माटो र बाटो सुहाउँदो मोडल बनाएको दाबी गर्दै प्रतिष्ठानले व्यावसायिक रुपमा कारखाना खोलेर स्कुटर उत्पादन गर्न चाहनेलाई मार्ग प्रशस्त भएको जनाएको छ । प्रतिष्ठानले तयार पारेको विद्युतीय स्कुटर प्रतिष्ठानका उपकूलपति डा सुनिलबाबु श्रेष्ठ, लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री लगायतले आफैं प्रयोग गरेर हेरिसकेका छन् ।

प्रतिष्ठानले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई समेत सो स्कुटरबारे जानकारी गराइसकेको छ । केही दिनभित्रै ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा स्कुटर औपचारिक रुपमा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिष्ठानको प्रविधि संकाय प्रमुख एवं इलेक्ट्रिक स्कुटर निर्माण कार्यक्रमका प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली भूगोललाई सुहाउँदो मोडल विकास गरिएको छ ।

प्रतिष्ठानले हाल प्रोटोटाइप (नमूना) निर्माण गरेको हो । प्रतिष्ठानले नेपालमै कारखाना खोलेर काम गर्दा के कस्तो प्राविधिक तथा आर्थिक तयारी गर्नुपर्छ भन्नेबारेमा समेत सम्भाव्यता अध्ययन गरिरहेको छ । सो कार्यका लागि लुम्बिनी प्रदेश सरकारले सहकार्य गरिरहेको छ ।

प्रतिष्ठान परिसरमै विद्युतीय स्कुटरको प्रयोगशाला निर्माण गरिएको छ । हाल बनाइएको स्कुटरको नाम ‘सारथी’ राख्ने तयारी भइरहेको ढकालले जानकारी दिए । नेपालमै उत्पादनका लागि सहयोग गर्ने उद्देश्यका साथ जनशक्तिसमेत तयार भएको छ । प्रतिष्ठानले आवश्यक अध्ययनसहित सात महिनामा परिणाम निकालेको हो ।

एउटा स्कुटर बनाउन प्रतिष्ठानले तीन लाखभन्दा बढी खर्च गरेको छ । ठूलो मात्रामा उत्पादन गर्दा न्यूनतम एक लाख ५० हजारदेखि दुई लाखसम्ममा उक्त स्कुटर तयार हुन्छ । सबै सामान विदेशबाट आयात गर्नुपर्ने भएकाले केही महँगो हुन जाने प्रतिष्ठानको बुझाइ छ ।

नेपाल बजार मात्रै होइन, उत्पादनको थलो पनि बन्नुपर्छ भन्ने सोच राखेर आफूहरुले यसमा अध्ययन गरेको उल्लेख गर्दै ढकालले विद्युतीय स्कुटर नेपालमा नै बनाउन सकिनेमा आफू आशावादी रहेको बताए । प्रतिष्ठानले हाल तयार पारेको स्कुटरमा दुई किलोवाट क्षमताको लिथियम आयन ब्याट्री छ । ब्याट्रीको क्षमता बढाउन सकिन्छ । हाल तयार भएको स्कुटर एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्न सक्छ । ढकालका अनुसार ब्याट्री र मोटरको क्षमता बढाउँदै जाँदा थप किलोमिटर गुड्ने बनाउन सकिन्छ ।

अधिकांश विद्युतीय सवारी साधनको ब्याट्रीमा समस्या देखिने गरेको छ । नेपालमै लिड सेल ब्याट्रीको अनुसन्धान भइरहेको छ । प्रतिष्ठानले त्यसमा प्राविधिक तथा प्राज्ञिक सहयोग गरिरहेको छ । विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिन जताततै चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने आवश्यकता छ । नेपाल विद्युत् प्राधिकरणले देशभर पहिलो चरणमा ५० चार्जिङ स्टेसन निर्माण गर्ने भने पनि हालसम्म ठोस प्रगति हुन सकेको छैन ।

प्रतिष्ठानका वरिष्ठ वैज्ञानिकसमेत रहेका ढकाल सरकार र उद्योगीले देशभित्रै विद्युतीय सवारीसाधन निर्माण र प्रयोगका सन्दर्भमा साझा दृष्टिकोण बनाएर काम गर्नुपर्ने बताउँछन् । नयाँ कामका लागि केही न केही जोखिम लिनैपर्ने उनको भनाइ छ । प्रतिष्ठानले मोबाइल एपबाटै मोटरसाइकल स्टार्ट गर्ने प्रविधिको समेत विकास गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय